डुबानमा रौतहट, भारतीय बाँध फुटेपछि तत्काल मर्मत

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १२ : २०
डुबानमा रौतहट, भारतीय बाँध फुटेपछि तत्काल मर्मत

रौतहट । डुवानमा परेपछि  रौतहटवासी अत्तालिएका छन् । भारतले बाँध नखोल्दा रौतहटवासी अत्तालिएका हुन् । भारतीय बाँधेको केही बाँधहरु बाढीले भत्काएको छ ।  

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले  तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट  अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत  सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले  तत्काल केमिकलकाे प्रयाेग मर्मत गरेकाे हुन्।

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका थिए। बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न भारतलाई पटकपटक आग्रह गरेका थिए । तर पनि भारतले बाँध खोलेको थिएन । अन्ततः बाढी बाँध भत्काएको छ । 

बाँध नखोलेपछि रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटसमा ‘गो ब्याक इन्डिया’ लेखिएको थियो ।

भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेको थियो । पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त बनेको छ । 

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ । बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् ।

गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।गौर बजारमा झण्डै १० फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उद्दारमा कठिनाइ भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप मद्दत माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ ।

बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । यसैगरी फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ । गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ ।


 

प्रतिक्रिया दिनुहोस