ओलीलाई विराटनगरका विनोद ढकाल किन यति प्यारो ?

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, ०७ : ५९
ओलीलाई विराटनगरका विनोद ढकाल किन यति प्यारो ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विराटनगरका बिनोद ढकाल यति प्यारो लागेको छ की, ढकाल पार्टीमा ओलीका अति विश्वासिला नेता बनेका छन् ।

स्थानिय तह निर्वाचनमा ओलीले ढकाललाई विराटनगर महानगरपालिकाको मेयर बनाउन चाहेका थिए । टिकट पनि पार्टीका तर्फबाट ढकाललाई नै दिए । तर ढकालले चुनाव जित्न सकेनन । त्यहाँ (विराटनगर) मेयरको बाजी काग्रेसका भीम पराजुलीले मारे ।

त्यसपछि पनि ओलीले ढकाललाई महत्वपूर्ण जिम्मेवारी दिएर जिल्लामा स्थापित गराईरहन नै चाहे । पार्टी एकतापछिको संगठनात्मक जिम्मेवारी चयन गर्ने क्रममा साविक जिल्ला अध्यक्षहरुबाटै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाउने मापदण्ड चयन गर्दा ढकाल मोरङ जिल्ला अध्यक्षमा चयन भए । त्यस अगाडी साविक एमालेका अध्यक्ष ढकालनै थिए ।

तर प्रधानमन्त्री ओली ढकाललाई जिल्लामा अन्य नेताहरुको निर्देशनमा बस्नुपर्ने  बाध्यताबाट मुक्त गराई आफै निर्णय प्रक्रियामा हाबी हुन सक्ने बनाउन चाहान्थे । शुरुमा ओलीले उनलाई खेलकुद परिषद्को सदस्य सचिव पनि बनाउन चाहे । केशर विष्टको पदावदी सकिएसँगै ढकाललाई त्यो ठाँउमा लैजान खोजे । तर मदन भण्डारी फाउन्डेसनमार्फत आफु कमजोर भएका बेला साथ दिएका रमेश सिलवाललाई पनि ब्यवस्थापन ओलीको बाध्यता थियो । सिलवाललाई विश्वविद्यालयतिर नियुक्ति दिने तयारीमा तगारो लागेपछि ओलीले सिलवाललाई खेलकुदमा लगेर ढकाललाई विराटनगरकै राजनीतिमा जमाउन खोजे ।

पार्टीको जिल्ला अध्यक्षको भूमिकामा मात्र ढकाललाई सिमित गराउन ओलीले चाहेनन् । ढकाल नेकपाका केन्द्रीय सदस्य पनि छन् । उनले ढकाललाई जिल्ला अध्यक्ष भन्दा पनि केन्द्रीय समितिबाट हेर्ने गरी विराटनगरको इन्चार्ज बनाउन चाहे ।

गत जेठ २१, २२ र २३ गते बसेको सचिवालय बैठकमा अध्यक्षद्धयले बनाएको कार्यविभाजन प्रस्तावमा ढकाललाई जिल्ला इन्चार्ज बनाउने प्रस्ताव ओलीले गरे । त्यस अगाडी नै ढकालले जिल्ला अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिएर अन्य नेतालाई अगाडी सारिसकेका थिए ।

ढकाल सहितका अन्य कतिपय जिल्लाको इन्चार्जको जिम्मेवारी दिने एउटा ठोस विधि नबनेसम्म र दोहोरो जिम्मेवारी अन्त्य नगरेसम्म वरिष्ठ नेता माधव नेपाल सहमतिमा नआएपछि नेकपामा अध्यक्षद्धयको प्रस्तावमा सहमति जुट्न सकेन ।

अहिले अध्यक्षद्धय ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच साविक जिल्ला इन्चार्ज ÷सहइन्चार्ज लाई नै जिम्मा दिने गरी समझदारी जुटेको छ । त्यसो गर्दा पनि मोरङ जिल्ला इन्चार्जमा ओलीले ढकाललाई नै अगाडी सार्न खोजेका छन् । ढकाल साविक एमाले तर्फबाट त्यहाँको इन्चार्ज थिएनन । तर ओलीलाई ढकाललाई सेटिङ गर्न सजिलो के भईदिएको छ भने, त्यहाँको इन्चार्ज रहेका डा. शिवमाया तुम्बहाम्फे प्रतिनिधीसभाको उपसभामुख छिन् । उपसभामुख भएपछि दलीय राजनीतिमा रहन नपाउने भएकोले साविक एमालेको केन्द्रबाट हेर्ने जिल्ला इन्चार्ज खाली हुन्छ ।

सहइन्चार्ज थिए, रुपनारायण श्रेष्ठ । उनलाई पनि स्थानिय तह चुनावमा टिकट बेचेको आरोप लागेपछि आन्तरिक कारबाहीमा परे । त्यसपछि उनी एकीकृत पार्टी नेकपाको केन्द्रीय समिति सदस्य बन्नबाट समेत बञ्चित भए ।

जिल्ला इन्चार्ज, सहइन्चार्ज दुवै नभएपछि र माओवादी तर्फका जिल्ला इन्चार्ज पार्टी केन्द्रीय समितिमा नरहेका कारण पनि ढकाललाई जिल्ला इन्चार्ज बनाउने ओलीको चाहनामा कतैबाट पनि तगारो नलाग्ने देखिएको छ ।

जिल्लाका वरिष्ठ नेतालाई नै यस्तो बेला जिल्ला इन्चार्ज बनाउनु पर्ने अडानमा वरिष्ठ नेता नेपाल रहे भने मात्र ढकालको जिल्ला इन्चार्ज बन्ने चाहनामा ब्रेक लाग्न सक्ला, नत्र उनी अब मोरङका पक्का जिल्ला इन्चार्ज बन्ने नेकपाका नेताहरुले नै बताउन थालेका छन् ।

पूर्वमा ओलीका लागि गुट ब्यवस्थापनमा ओलीको समुहको ब्यवस्थापनमा महत्वपूर्ण भूमिका ढकालले खेलेको कारण उनी जसरी पनि ओलीको सेटिङमा पर्ने पात्र बनेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस