मन्त्रिपरिषद् बैठक चल्दै गर्दा बाहिरिए उद्योगमन्त्री

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १० : १४
मन्त्रिपरिषद् बैठक चल्दै गर्दा बाहिरिए उद्योगमन्त्री

काठमाडौं । मन्त्रिपरिषदको जारी बैठकको बीचबाटै उद्योगमन्त्री मात्रिका यादव बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको बैठकमा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादव बैठकमा केही बेर मात्र बसेर बाहिरिएका हुन् ।

बैठक नियमित मात्र भएको र नियमति प्रक्रियाकै आधारमा छलफल मात्र चलिरहेको सामान्य प्रतिक्रिया यादवको आएपनि उनी बाहिरिनुको कारण उनले केही खुलाएका छैनन । यद्यपी, यादवले आफनो अन्य काम भएका कारण बाहिरिएको सामान्य प्रतिक्रिया मात्र दिएका छन् ।

भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परिक्षणबाट सरकार पछि हटेपछि अहिले सरकारको चौतर्फी आलोचना बढेको छ । मन्त्री यादवले हिजो संसदको राष्टिय सभा र आफ्नै मन्त्रालयमा समेत पत्रकार सम्मेलन गरी तयारी नपुगेको कारण हाललाई स्थगित मात्र गरिएको बताएका थिए । प्रधानमन्त्री कार्यालय, कृर्षि मन्त्रालय र आफ्नै मन्त्रालयका सचिवले बुझ्दै नबुुझि रिपोटिङ गर्दा यो विषयमा कमजोरी भएको मन्त्रीले बताएका थिए । यसमा आफुलाई फसाईएको यादवको भनाई थियो ।

यस बीच परराष्ट मन्त्रालयलाई भारतीय राजदुतावासले पत्र नै लेखेको सार्वजनिक भएपछि सरकार भारतीय दबाबमै पछि हटेको भन्दै आलोचना बढिरहेको छ । यही बीचमा प्रधानमन्त्रीले एकाबिहानै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकमा यो विषय पनि छलफलमा उठ्ने बताईएको थियो । त्यही बीचमा बैठकको बीचमै मन्त्री यादव किन बाहिरिए भन्ने प्रश्न उठेको छ ।
 

प्रतिक्रिया दिनुहोस