काठमाडौं । सरकारले विप्लव नेकपामाथी दोहोरो रणनीति अख्तियार गरेको छ । उक्त पार्टीका केन्द्रीय समितिका नेताहरुलाई नै हेर्ने दृष्टिकोणमा सरकारले दोहोरो रणनीति अख्तियार गरेको छ । त्यसको पुष्टि सोमबारको एक घटनाले गरेको छ । उक्त पार्टीका केन्द्रीय समितिमै रहेका र पक्राउ परेका केही नेतालाई सरकारले रिहा गरिदिएको छ भने केही नेतालाई अदालतले रिहाको आदेश दिएपनि पूनः पक्राउ गरेर दोहोरो राणनीति अवलम्वन गरेको खुल्न आएको हो । घटना सुनसरीको हो । नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि ओली ‘आदर्श’, र चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राईलाई अदालतको आदेशमा सोमबार सरकारले रिहा गरिदिएको छ । तर त्यही अदालतले रिहा आदेश दिएका पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त)लाई भने पूनः प्रक्राउ गरिएको छ ।
ओली र खड्का गत बैशाख ७ गते गिरफ्तार भएका थिए । जीवन्तलाई भने सरकारले विप्लवको नेकपालाई प्रतिबन्ध लगाए लगत्तै चैत १ गते ललितपुरको च्यासलस्थित कोठाबाटै पक्राउ गरेको थियो ।
एकै पार्टीका एकै कमिटिका नेताहरुलाई सरकारले देखाएको फरक रवैयाका कारण विप्लवको पार्टीभित्र सरकारले दोहोरो रणनीति अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको पुष्टि हुने उक्त पार्टीकै एक जना नेताले बताए । ‘एउटै कमिटिका केही नेतालाई रिहा गर्ने, केहीलाई फेरि पक्राउ गरेर कडा बन्न खोज्ने सरकारी रवैया बुझिनसक्नु भएको छ,’ विप्लव पार्टीका ति नेताले भने,–‘सरकारले हामीप्रति दोहोरो रणनीति अवलम्वन गरेको देखिदैछ । हामीभित्र शंका÷आशंका उत्पन्न गराउने र फुटको राजनीति गर्नका लागि कतै यस्तो खेल खेलिदै त छैन भन्ने आशंका जन्माई दिएको छ ।’ सुनसरी जिल्ला अदालतले प्रकाउ परेका जीवन्त सहित रिहा भएका ओली र खड्का समेत सबै नेताहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका थियो । पुनः पक्राउ परेका जिवन्तलाई भने नुवाकोट लैजाने तयारी गरिएको बुझिएको छ । उनलाई आजै सम्भवत नुवाकोट पु¥याइदैछ ।
गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गर्दा केन्द्रीय सदस्य आदर्श, असल र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’सहित ३ जना सँगै गिरफ्तार परेका थिए । गिरफ्तार भएका विश्वलाई भने हाल रोल्पाको लिबाङ्ग हिरासतमा राखिएको छ । गिरफ्तार तिनै जनालाई दाङ प्रहरीले हिरासतमा राखेपछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले पुनः गिरफ्तार गरी २ जनालाई धरान र एक जनालाई रोल्पा लगेको थियो । नेकपाको जनअदालतका प्रमुख समेत हुन् ओली । उनी रोल्पा गंगादेव गाउँपालिका –३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । माओवादी पार्टी विभाजन नहुँदा उनले पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएर समेत काम गरेका थिए । त्यस्तै अर्का केन्द्रीय सदस्य असल सल्यानको दार्माका हुन् । उनका बावु पनि माओवादी जनयुद्दका बेला मारिएका थिए । जीवन्त भने धादिङका हुन् । तत्कालिन माओवादीले ०५१ सालमा जनयुद्धको उदघोष गदै गर्दा उनी धादिङका जिल्ला सेक्रेटरी थिए । उनलाई काठमाडौं हुदै संखुवासभा, पून काठमाडौं, त्यसपछि धरान हुदै अब नुवाकोट लैजाने तयारी भएको हो ।
विप्लव नेकपाका केन्द्रीय स्तरका नेतालाई पक्राउपछि सितिमिति सरकारले छोडेको छैन । छुटिहालेका नेताहरुले पनि कित सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सम्झौता गरी छुटेका छन् कि त ठूलै जनदबाबका कारण मात्र छुटेका छन् । तर, आर्दश र असलको रिहाई अनि जीवन्तको पक्राउले अनेक शंका भने जन्माई दिएको नेकपाभित्रै चर्चा चल्न थालेको छ । रिहा भएका नेताहरुका साथमा सत्तारुढ नेकपाका सुनसरीका नेता शिव डाँगी समेत तस्विरमा देखिएपछि कतै सरकारी प्रपन्चमा रिहा भएका त होइनन भन्ने आशंका जन्माईदिएको नेकपाभित्र बहस हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०७६, ०९ : ५६
लेखकबाट थप