- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीहरुले इमान्दारिता पूर्वक राष्ट्र र संगठनका लागि बगाएको पसिना कहिल्यै अवमूल्यन हुन नदिने बताउनु भएको छ ।
आइतबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षक तालिम २–१७५ औं समूहको दीक्षान्त कार्यक्रमलाई संबोधन गर्दै गृहमन्त्री थापाले प्रहरीको लापरबाहीले पीडितले कहिल्यै न्याय पाउन नसक्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘भुल, लापरवाही र गैर व्यवसायिक चरित्रले पीडितले न्याय पाउँदैनन् ।’
प्रहरीका क्रियाकलापहरुले पीडितले न्याय पाउने सुनिश्चिता र कुनै लापरवाही गरेमा पीडकले छुट पाउने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री थापाले यसतर्फ सदैव सचेत रहन प्रहरी संगठनलाई आग्रह गर्नुभएको थियो । प्रहरीहरु नागरिकका असिमित आशा र भारोसाका केन्द्रविन्दुमा रहने बताउँदै उहाँले प्रशिक्षार्थीहरुलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको थियो । गृहमन्त्री बादलले प्रहरीको सानो भुल र लापरबाहीले सिङ्गो संगठन प्रत्युत्पादक बन्न सक्ने तिर सचेत गराउनुभयो ।
प्रहरीको काँधमा कानुनी राज्य र सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रममा उहाँले नागरिकहरुको मनमा प्रहरीप्रति ठूलो विश्वास र भरोसा रहेकोले त्यो विश्वासलाई थप प्रगाढ र मजबुद बनाउन आग्रह गर्नुभएको थियो ।
अबको गन्तव्य समृद्ध नेपाल र सुखी नेपालीको सारथी हुनुपर्ने भन्दै गृहमन्त्री थापाले जसमा प्रशस्त बाधा र चुनौतीहरु रहेकोतर्फ प्रशिक्षार्थीहरुलाई सचेत गराउनुभएको थियो । प्रहरी संगठलाई कानुनी र भौतिक रुपमा सवलिकरण गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले कुनै पनि कसर बाँकी नराखेको बताउनुभयो । उहाँले दीक्षित प्रहरी सहायक अधिकृतलगायत सम्पूर्ण प्रहरीहरुलाई इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा २१ महिलासहित ३०५ जना प्रहरी सहायक अधिकृतहरु दीक्षित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
आइतबार, २२ असार २०७६, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थिरताका लागि एमाले–माओवादी गठबन्धन बन्यो : बादल