काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई कोट्याईकोट्याई घाउ बनाएर क्यान्सर बनाउने चलखेल भइरहेको बताउनुभएको छ ।
समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु शान्ति प्रक्रियाको विरुद्धमा षडयन्त्र गरिरहेको बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रिया सफल भएको एक थरिलाई मन परेको छैन, त्यसैले कता गएर हुन्छ, या के गरेर हुन्छ शान्ति प्रक्रियालाई भाँड्न खोजिएको छ ।’
प्रतिक्रियावादीहरु संघीय लोकतन्त्रलाई बदनाम पार्न, झगडाको आविश्वकार नै गरेर नेतापिच्छेलाई गाली गरेर शान्ति प्रक्रिया भाँड्न खोजिएको उहाँले बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वको सफल शान्ति प्रक्रिया भएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको एकताले विश्वमा बलियो सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकता आफैँमा दुरगामी छ, नेपाली जनताले विश्वास गरेर झन्डै दुई तिहाइ मत कम्युनिष्टलाई दिएका छन्, जनताले दिएको यो जिम्मेवारी हामीले पूरा गर्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले घर छोडेर गएका र पुनः घर फर्केहरुलाई स्वागद गर्दै भन्नुभयो, ‘घरमा बस्नेहरुको भन्दा घर छोडेर गएका र फेरि घर फर्केकाहरुको माया बढी लाग्छ, मलाई अहिले त्यही अनुभव भइरहेको छ ।’
अध्यक्ष प्रचण्डले मोहन वैद्य किरणदेखि बाबुराम भट्टराईसम्मलाई पुरानै घरमा फर्कन आग्रह गर्नुभयो । उहाँले विप्लव, मोहन विक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान बिजुक्छेलाई समेत एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विप्लवहरु असम्भव नहुने बाटोतर्फ जानुभएको छ, नजानूस्, आफ्नो बल र बुद्धि घर फर्केर खर्चनूस् ।’
उहाँले मोहन विक्रम सिंह, चित्रबहादुर केसी र मोहन वैद्यलाई कसरी सम्झाउने होला भनेर आफूलाई चिन्ता लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुप्रति सम्मान छ, कसरी सम्झाउने भन्ने चिन्ता पनि छ, उहाँहरुले पनि भनिदिनुपर्यो, के सम्मान गर्यो भने आउनुहुन्छ ।’
नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी बौद्धिकताले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, १३ : ४७
लेखकबाट थप