काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी केन्द्रीय समितिमा केही नेताहरुलाई थप गरेको छ । कुल ९५ जनाको केन्द्रीय समिति बनाउने गरी उसले केन्द्रीय समितिबाट ११ जना केन्द्रीय सदस्य थप गरेको छ । त्यस्तै सात जनालाई पोलिटब्यूरोमा थप गरेको छ ।
ललितपुरको चाङ्गाथलीमा गत असार १२ गतेबाट बसेको बैठक मंगलवार सकिएको थियो । केन्द्रीय समितिमा थपिएका ११ र पोलिटब्यूरोमा थपिएका सात जना वैकल्पिकमा थपिएका हुन् । पार्टी केन्द्रीय समितिमा रहेका नेताहरु नै कतिपय निष्किय बस्ने, केही राजीनामा दिएर बस्ने अवस्था आएपछि उनीहरुको रिक्त स्थानमा नयाँलाई जिम्मेवारीमा लग्ने गरी संगठनात्मक संरचना निर्माण गरिएको वैद्य माओवादीका एक नेताले बताए ।
एक साता लामो समयसम्म वैद्य माओवादी केन्द्रीय समितिको बैठक बसेर के निर्णय ग¥यो ? त्यसको निर्णय सार्वजनिक भईसकेको त छैन । तर संगठन र संघर्षका केही ठोस कार्यक्रम तय गरेको नेताहरुले बताएका छन् । पार्टी संगठनलाई महासचिवको पद्धतीमा लगेको उसको पार्टी केन्द्रीय समिति बैठकले पार्टी संगठन र संघर्ष सम्बन्धि ठोस कार्यक्रम तय गरेको हो ।
बैठकमा महासचिव वैद्यले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्ताव राखेका थिए । त्यसमा नेताहरुले खुलेरै आन्तरिक जनवादको प्रयोग गरि एक सातासम्म विविध पक्षबाट टिप्पणी गरेको एक नेताले बताए ।
किरणले प्रस्तुत गरेको दस्ताबेजमा राष्ट्रिय–अन्तर्रािष्ट्रय परिस्थितिको चर्चा मात्रै गरिएको छैन, सङ्गठन, सङ्घर्ष, एकता र ध्रुवीकरणमा केन्द्रित रहेको बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले बताए ।
बैठकमा कतिपय केन्द्रीय सदस्यले दुई वर्ष हुन लाग्दा पनि सङ्गठनका सन्दर्भमा पोखरा भेलाले गरेका निर्णय व्यवहारमा लागु नभएकाले त्यसलाई व्यवहारमा ल्याउनु पर्ने कुरामा जोड दिएका थिए ।
पोखरा भेलाले सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनुपर्ने, केन्द्रीय सदस्य हुन १० वर्षसम्म सङ्गठन र संर्घषका कार्यक्रममा सहभागी भएको हुनुपर्ने, स्वास्थ्य, उमेर र अन्य कारणले पार्टीमा समय दिन नसक्ने अवस्थामा पुगेकाहरूले पार्टीको महत्वपूर्ण पदबाट बिदा लिएर समय र शरीरले धान्ने किसिमको जिम्मेवारी लिन स्वेच्छिक निर्णय गर्नुपर्ने आदि किसिमका निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनमा आउन नसकेको भन्दै केन्द्रीय नेताहरुले नै प्रश्न उठाएका छन् ।
सो पार्टीका पोलिटब्युरो सदस्य हर्कबहादुर शाहीको मृत्यु भइसकेको छ भने माओवादी आन्दोलनको लामो अनुभव भएका श्रीनाथ अधिकारी श्याम पनि क्यान्सर रोगका कारण अशक्तताका साथ केही महिनादेखि औषधी उपचारमा छन् । कतिपयले पदिय हैसियतअनुसार जिम्मेवारी बहन नगरेको कुरा पनि सो पार्टीको बैठकमा कुरा उठेको छ ।
सो पार्टीमा कतिपयले पूर्णकालीनकै परिभाषा प्रस्ट नभएको, कसलाई पूर्णकालीन कार्यकर्ता भन्ने र कसलाई नभन्ने भन्ने कुरा पनि प्रस्ट नभएको किसिमका गुनासो समेत राखेका थिए । बैठकले प्रधानमन्त्री केपी ओलीको सरकार फासीवादी शैलीमा अगाडी बढेकोले संर्घष गरेर जाने निर्णय पनि लिएको छ ।
ओली सरकार असाध्यै फासिवादी शैलीमा आइरहेको अवस्थामा संघर्षका कार्यक्रमलाई नयाँ र जुझारु किसिमले लैजानु पर्ने र यसका लागि सङ्गठनलाई चुस्त र फुर्तिलो बनाउनु पर्ने आवश्यकता रहेको र नेतृत्वमा नयाँ पुस्तालाई अगाडि लानु पर्ने कुरा पनि कार्यकर्ताबीच जोडदार रूपमा उठेको एक नेताले बताए ।
त्यसै गरी मूल पार्टी र चुनावी मोर्चा ‘देजमो’ एकअर्काका प्रतिस्पर्धी, समानान्तरजस्ता देखिएकाले मोर्चा होइन मूल पार्टीलाई नै सङ्गठन, सङ्घर्ष र जनस्तरमा स्थापित र लोकप्रिय बनाउनु पर्छ भन्ने कुरामा पनि सो पार्टीका अधिकांश कार्यकर्ताहरूको धारणा रहेको पाइन्छ ।
पार्टी एकता र धुव्रिकरणको जिम्मा स्थायी समितिलाई
विचार राजनीति मिल्ने पार्टीसँग एकता र धुब्रिकरणका लागि पहल गर्ने निर्णय पनि वैद्य माओवादीले गरेको छ । त्यसका लागि केन्द्रीय समितिले पार्टी हेर्डक्वार्टरलाई आवश्यक निर्णय लिन जिम्मा दिएको छ । वैद्य माओवादीको हेर्डक्वार्टर भनेको स्थायी समिति हो । अब उसले विप्लवको नेकपा, ऋषि कट्टेलको नेकपा लगायत गोपाल किराती, विश्वभक्त दुलाल आहुति लगायतका समुहसँग वार्ता र संवाद गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०७६, ११ : २१
लेखकबाट थप