कृषि मन्त्री भन्छन्, प्रधानमन्त्रीको अढाई वर्ष पुगिसकेको छैन

‘तत्कालीन अवस्थामा सरकार आलोपालो गरौं भनिएकै हो, तर अहिले बेला भएको छैन, प्रधानमन्त्रीको अझै अढाइ वर्ष त भएको छैन नि’

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १० : १९
कृषि मन्त्री भन्छन्, प्रधानमन्त्रीको अढाई वर्ष पुगिसकेको छैन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पार्टी एकतापूर्व नै पार्टीका दुई अध्यक्षका बीचमा आलोपालो सहमति भएको भएपनि प्रधानमन्त्री ओलीको अढाई वर्ष नपुगेको बताएका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको अढाई वर्ष नपुगेकोले अझै समय बाकी रहेको बताएका हुन् । ‘तत्कालीन अवस्थामा दुई पार्टीबीच एकता पनि गरौं, सरकार आलोपालो पनि गरौं भनिएकै हो,’ खनालले भने, ‘तर अहिले बेला भएको छैन, अढाइ वर्ष त भएको छैन नि ।’ उनले सहमति कार्यान्वयन सबैको दायित्व भएकोले समय आएपछि सबै सहमति कार्यान्वयन हुने बताए ।

उनले मन्त्रिमण्डल हेरफेरको विषय भने प्रधानमन्त्रीको अधिकार क्षेत्र भएकोले आवश्यक पर्दा हेरफेर गर्न सकिने बताए । यद्यपी, उनले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नभएको जिकिर गरे ।  आफुलाई नै प्रधानमन्त्रीले फेरे पनि कुनै गुनासो नरहने भन्दै खनालले  भने, –‘मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाए पनि कुनै टेन्सन छैन ।’

उनले अन्य साथीहरुलाई पनि मन्त्री बन्ने पालो दिन आफु जहिल्यै तयार रहेको पनि बताए । ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यही मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाई पनि पालो दिनुपर्छ ।’
खनालले भने ।
 

प्रतिक्रिया दिनुहोस