भीआइपी भ्रमणमै सकियो राज्यकोषको डेढ अर्ब रुपैया

१७ महिनामा एक अर्ब ४८ करोड रुपैया खर्च, राष्ट्रपतिको चार ओटा भ्रमणमा मात्रै ७ करोड सकियो

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, ०८ : ५४
भीआइपी भ्रमणमै सकियो राज्यकोषको डेढ अर्ब रुपैया

काठमाडौं । प्रधानमन्त्री केपी ओली दोश्रो पटक सरकारमा नेतृत्व गरेर आएपछि मात्रै भीआईपीहरुको विदेश भ्रमणमै राज्यले डेढ अर्ब रुपैया खर्चेको छ । प्रधानमन्त्रीको पछिल्लो नौँ दिने यूरोप भ्रमण बाहेक नै यति ठूलो मात्रामा रकम विदेश भ्रमणमा सरकारले खर्चेको हो ।

ओलीको १७ महिने अवधीमा भीआईपीहरुको विदेश भ्रमणका नाममा एक अर्ब ४८ करोड रुपैया खर्च भईसकेको छ । तर चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विशिष्ट ब्यक्तिको भ्रमण तथा प्रतिनिधीमण्डलको खर्च जोडदा १ अर्व २१ करोड २७ लाख रुपैया राज्यले खर्चेको अर्थ मन्त्रालय स्रोतले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस आर्थिक वर्षको पछिल्लो १० महिनामा मात्र मन्त्रीहरुले विदेश भ्रमणका क्रममा २२ करोड ३३ लाख रुपैया खर्चेको छ । प्रधानमन्त्री ओलीको पछिल्लो यूरोप भ्रमण, अन्य केही मन्त्रीका जेठ र असार महिनाको भ्रमण खर्च र सात ओटै प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरुको विदेश भ्रमण खर्चको हिसाबकिताब यो खर्चमा जोडिएको छैन ।

प्रधानमन्त्रीको टोलीले गत महिना मात्र गरेको कम्बोडिया र भियतनाम भ्रमणमा मात्रै दुई करोड १२ लाख ८५ हजार २६ रुपैया खर्चेको छ । प्रधानमन्त्री ओलीको कोष्टारिका भ्रमणका क्रममा ४३ लाख ७८ हजार ९८० खर्च भएको छ ।

गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण खर्च ३ करोड ९ लाख ५५ हजार ६ सय ३३ रुपैया सरकारले खर्च गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यो बीचमा ४ पटक विदेश भ्रमण गरिसकेकी छिन् । अर्थ स्रोतका अनुसार, यी भ्रमणमा ७ करोड खर्च भएको छ ।

संयुक्त राष्टसंघको बैठकमा भाग लिन जादा एक करोड ६२ लाख, कतार जाँदा एक करोड २० लाख र पोल्याण्ड भ्रमणमा जाँदा दुई करोड एक लाख रुपैया खर्चेको छ ।
२०७४ फागुन ३ मा ओली प्रधानमन्त्री बनेयता उनकै भारत, चीन, स्वीजरल्याण्ड, भियतनाम, कम्बोडिया, अमेरिका, कोष्टारिका हुँदै यूरोप भ्रमण भएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको न्यूयोर्क भ्रमणमा ९ लाख ५५ हजार २४५, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको  भारत भ्रमणका क्रममा दुई लाख एक हजार ७०२, कृषिमन्त्री चक्रपाणि खनालको भ्रमणमा पनि २६ लाख रुपैया रकमान्तर गरी गत चैतमा राज्यले खर्चेको छ ।

वनमन्त्री शक्ति बस्नेतको दोहा भ्रमणमा ७ लाख ४ हजार २ सय ७३, उनकै लन्डन भ्रमणका लागि ३ लाख १६ हजार ८ रुपैया, उद्योगमन्त्री मातृका यादव, दुबई र बहराइन भ्रमणमा ८ लाख ३८ हजार ९०८, उद्योगमन्त्री यादवकै उपचार खर्चबापत एक लाख १३ हजार एक सय ९, उनकै सेकेन्ड बेल्ट एण्ड रोड फोरममा भाग लिन चीन जादा ५ लाख ३९ हजार १५६ रुपैया राज्यले खर्चेको छ ।

त्यस्तै, परराष्टमन्त्री प्रदीप ज्ञावालीको टोली संयुक्त राष्टसंघमा जादा १८ लाख ७० हजार ३९०, ज्ञावालीकै मनवअधिकार परिषद्को ४० औं सेसनमा भाग लिन जाँदा ४४ लाख ४१ हजार ७७६ खर्च भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।  परराष्टमन्त्री ज्ञवालीकै आणविक सम्मेलनमा भाग लिन जापान जादा ४१ लाख २९ हजार ५२४ रुपैया खर्च भएको छ ।

यही बीचमा मुख्यसचिव लाकदर्शन रेग्मीसहित चार जना इजिप्ट भ्रमणमा निस्कदा १३ लाख ५६ हजार ३ सय ५५ रुपैया खर्चेको छ । 

प्रतिक्रिया दिनुहोस