के आज भोलि नै पुनर्गठन होला मन्त्रिपरिषद् ?

प्रचण्ड–ओलीले आ –आफ्नै समुहका आकांक्षी नेताहरुसँग छलफल गर्ने, आकांक्षी नेताहरुलाई छलफलका लागि बोलाइयो

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, ०७ : १३
के आज भोलि नै पुनर्गठन होला मन्त्रिपरिषद् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज–भोलि नै मन्त्रिमण्डल हेरफेर गर्न लागेको चर्चा अहिले चुलिएको छ । अझ तीन दिन संवादहिनतामा रहेका नेकपाका दुई अध्यक्षबीच वुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भेट भएपछि भने यो चर्चा झनै चुलिएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डका बीच हिजो बिहान वालुवाटारमा झण्डै ढेड घण्टा एक्लाएक्लै वार्ता भएको थियो । गत शनिवारको सचिवालय बैठकपछि दुई नेताबीच टेलिफोन वार्ता समेत नभईरहेका बेला प्रधानमन्त्रीकै निम्तोमा प्रचण्ड हिजो बिहान (वुधबार) बालुवाटार पुगेका थिए ।

पार्टीभित्र पछिल्लो चरण देखा परेको राजनीतिक दस्तावेज प्रकाशन गर्ने र त्यसभित्रको अन्तरिम कार्यदिशा एकताकै क्रमको जनताको जनवाद राख्ने या तत्कालिन एमालेवालाको जनताको बहुदलीय जनवाद राख्ने भन्नेमा देखिएको पछिल्लो विवाद, पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा दुई अध्यक्षका वीचमा छलफल भएको हुन सक्ने अनुमान लगाइएपनि छलफल भने क्याविनेट हेरफेर गर्ने विषयमा छलफल केन्द्रीत भएको वालुवाटार स्रोतले बताएको छ ।

दुई अध्यक्षवीच अहिले क्याविनेटमा रहेका एक तिहाई मन्त्रीहरुको बिदाई गर्ने र बिदाई हुने मन्त्रीको स्थानमा नयाँ एक तिहाई मन्त्री लगेर क्याविनेटलाई रिफर्म गर्ने विषयमा दुई अध्यक्षका बीचमा छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले नै क्याविनेट रिफर्मका विषयमा अर्का अध्यक्ष प्रचण्डसँग गम्भिर छलफल गरेपछि अब आज भोलि नै क्याविनेट हेरफेर हुने चर्चा चुलिएको हो । स्रोतका अनुसार, वातावरण अन्यथा केही आईनलागेमा प्रधानमन्त्री ओली आज भोलिमै मन्त्रीमण्डल पूर्नगठन गर्ने पक्षमा देखिएका छन् ।  संसदले बजेट पारित गरेलगत्तै मनित्रमण्डल हेरफेर गर्ने विषयमा यस अगाडी नै अर्का अध्यक्ष प्रचण्डले पोखरा पुगेर केही साता अगाडी नै खुलासा गरिदिएका थिए ।

स्रोतका अनुसार, दुई अध्यक्षका बीचमा कुन मन्त्री राख्ने, कुन मन्त्री फेर्ने भन्ने विषयमा पनि दुई अध्यक्षका बीचमा वुधबारको छलफलमा कुराकानी भएको छ । त्यही आधारमा दुबै अध्यक्षले तत्कालिन एमाले माओवादी खेमाका आकांक्षी नेताहरुसँग छुटाछुटै परामर्श गरेर हेरफेरको तयारी गरेको बुझिएको छ ।

त्यसका लागि प्रधानमन्त्री ओलीले तत्कालिन एमाले खेमाका आकांक्षी नेताहरु र प्रचण्डले तत्कालिन माओवादी खेमाका आकांक्षी नेताहरुसँग सम्भवत आजै आन्तरिक छलफलको लागि तयारी गर्ने योजना बनाएको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले महेश बस्नेत, योगेश भटटराई, पर्वत गुरुङ र प्रचण्डले प्रभु शाह, देवेन्द्र पौडेल, जर्नादन शर्मा लगायत नेताहरुसँग छलफल गर्न खोजेका छन् । यी नेताहरु क्याविनेट रिफर्म गर्दा मन्त्रीका आकांक्षी नेताहरु हुन् । सरकारले राष्टिय सभाबाट आज र प्रतिनिधीसभाबाट बजेट भोलि शुक्रवार पारित गदैछ ।

सरकारमै रहेर काम देखाउन नसकेको मन्त्रीहरुलाई बिदाई गर्ने र काम देखाउन सक्ने प्रभावशाली नेताहरुलाई सरकारमा लैजाने योजना प्रधानमन्त्रीले केही समय अगाडी नै बनाएका थिए । तर उनले बजेट सम्म कुरेको स्रोतले बतायो । प्रधानमन्त्रीले क्याविनेट हेरफेरका विषयमा तिन ओटा विकल्पमा छलफल चलाएको पनि यस अगाडी समाचार प्रकाशित भएको थियो । पहिलो सबै मन्त्रीहरु फेरेर टिममा नयाँ मन्त्री लैजाने, दोश्रो, केही काम देखाउन नसकेका मन्त्रीलाई मात्र झिकेर नयाँ नेताहरुलाई समावेश गर्ने र तेश्रो रिक्त सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा मात्र नयाँ नियुक्ति गरेर लैजाने विकल्पमा प्रधानमन्त्रीले छलफल चलाईरहेका थिए ।

केही दिन यता प्रधानमन्त्री निवास वालुवाटारमै बसेर प्रधानमन्त्रीले आन्तरिक तयारी गरेपछि आज भोलि नै क्याविनेट रिफर्म हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस