काठमाडौं । १२ घण्टा देखि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमै थुनिएका मजदुरहरुको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामा ११ नेपाली र ६ चिनियाँ नागरिक छन् ।
उद्धार गरिएका मजदुरमा बैतडीका जनकबहादुर राना र रतनसिंह प्रजा, सल्यानका गोविन्द पुन, लमजुङका टेकबहादुर थापा, धादिङका कुशल श्रेष्ठ, रुकुमका अर्जुनबहादुर रोक्का र निमासेडर लामा, बर्दियाका दानबहादुर ओली, सुर्खेतका कर्णबहादुर घर्ती, रुद्रबहादुर ठाडा मगर र टेकबहादुर दर्लामी छन् । त्यस्तै चिनियाँ नागरिक जि हङ, वाङ चिङ, हङ हु जिङ, जिउ जिओ, हङलङ नुङ र झन ल्याङको पनि उद्धार भएको छ ।
रसुवागढी जलविद्युत आयोजनाको ए फोर टनेलमा पहिरो खस्दा हिजो १७ जना कामदार सुरुङ मार्गमा थुनिएका थिए । उनीहरुलाई सुरुङ मार्गबाट अहिले बिहान उद्धार टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख डिएसपी भोगेन्द्रपुुरुष ढकालले जानकारी दिए । गएराती आठ बजेदेखि उनीहरु थुनिएका थिए । अहिले बिहान पाँच बजे देखि नै सुरुङमा फसेका कामदारहरुको उद्धारको कार्य शुरु गरिएको थियो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खटिएका थिए । निर्माणको क्रममा रहेको जलविद्युत आयोजनाको माथिल्लो भागबाट पहिरो खसेर सुरुङको अघिल्लो भाग पुरिएपछि ति कामदारहरु सुरुङमा फसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०७६, ०८ : ४९
लेखकबाट थप