- बसन्त चौधरी
कतै भेट्टीएथ्यौ संयोगले
मन मिल्यो
थाहै भएन
कति चाडै आफ्नै बन्यौ !
तिमीलाई लाग्दा चोट
दुख्न थालेँ म
तिम्रो मुस्कानमा
भेटेँ अलौकिक खुसी
तिमी र म,
यसरी एक हुँदै गयौ
संयोगको मोढमा
जीवनको गोरेटोमा ।
हामी दोबाटोमा आइपुग्यौं
अब थोरै बाटो बाँकि छ संगै हिड्न
छुट्टिनै पर्ने बाद्यतामा
क्षण मैं हुन्छौँ दुईतिर हामी
मुटु भरिभरि बोकेर एक अर्कालाई !
सोध्न मनलाग्यो तिमीलाई
संसारको व्यस्त समयको कुनै पलमा
जब तिमी मबाट कोषौं टाढा हुन्छौं
टाढा टाढा कुनै विरानो ठाउँमा
सम्झन्छौ कि कहीं कतै मलाई ?
मनको एक कुनामा छाम्दै
सोध्छौ कि मेरो खबर,
आकाशको जूनलाई !
कल्पन्छौ कि मेरो अवस्था
हृदयको धरातलमा
हाँस्छौ कि मन्द मन्द सम्झेर
मेरो चुम्बन !
जब हामी टाढा हुन्छौं...
हातमा हात राखेर हेरेको
निलो आकासको सुन्दर जून,
नदीमा खुट्टा चोपेर छ्यापेको पानी
समाएर एक अर्काको हात
सुस्त सुस्त चालेका पाउहरु,
नअघाएका ती पल
एक अर्कालाई हेरेर,
झलझल आँखामा राखेर,
पढ्छौ कि कतै मलाई
स्मृतिको यौटा किताब
जो मायाको नामले लेखिएको छ ।
कल्पन्छौ कि मेरो अवस्था
वियोगको चिहानमा
आँसुको मूल फुटाई
सम्झेर मेरो स्पर्श
आँसुसंगै मुस्काएर,
गर्दै मिठो गाली !
जब हामी टाढा हुन्छौं...
बाचा कसम नखाई,
कसिएको हाम्रो प्रीत
एक अर्काप्रति ढुकढुकाएको मुटु
थाहै नपाई,
समर्पणमा हृदयले सुम्पेको सर्वस्व
तिमीलाई थाहा छ, मलाई थाहा छ
मुटु भरिभरि एक अर्कालाई बोकेर
वियोगको लागि तयार हुँदा
हाम्रो लागि आउने समय
दुखद छ, अत्यन्तै दुखद
उचाइका दुई पहाड
दृश्यान्तमा टाढा टाढा !
कल्पन्छौ कि मेरो अवस्था
विगत सम्झेर मन रुवाउँदै
बोल्छौ कि स्मृतिमा मसंग
रुझेर सम्झनाको झरीमा
चुम्छौ कि आँसु म ठान्दै !
जब हामी टाढा हुन्छौं...
सोध्छौ भने मलाई तिमी
म निरीह समयको आघात अघि
कुनै पल, कुनै घडी,
बिर्सने छैन तिमीलाई
मेरो ’म’ को बिर्सनै पनि
सम्झना हौ तिमी !
जति टाढा उति नजिकिने तिमी
र त म भन्छु,
शारीरिक दूरीको त्यो क्षणको वियोग
साक्षात संयोग पो रहेछ
प्रेमको त त्यो अलौकिक प्रान्त पो हो,
जहाँ हामी समयातीत बाँच्छौं !
प्रतिक्रिया दिनुहोस