खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण

बुधबार, १० माघ २०७४, १२ : ५७
खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण

बाँके । बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगन्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा शीतभण्डार निर्माण शुरु गरेको हो ।

१० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले जानकारी दिए ।
नेपालगन्जबाट करिब पाँच किलोमिटर पश्चिम गुलरिया रोडअन्तर्गत खजुरा नजिकै दुई बिगाहा जग्गामा नेपालगन्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । जग्गा खरिद भई निर्माण कार्यको औपचारिक शुरुवात २०७१ देखि भएपनि गत वैशाखदेखि निर्माण कार्य शुरु भएको हो ।

नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय महासचिवसमेत रहनुभएका शर्माले शीत भण्डारमा जडीबुटी भण्डारण गरिने बताए ।
यसैगरी, कर्णालीको स्याउ, तरकारी र आलु पनि भण्डारण गर्ने लक्ष्य पनि छ । मध्य र सुदूरपश्चिमाञ्चलका किसानका उत्पादनलाई भण्डारण गर्ने लक्ष्य राखिएको छ । शीतभण्डारको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनऊ लगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस