कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् ।
चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् ।
“चोरी–शिकारीमा संलग्न व्यक्तिहरुलाई चोरी–शिकारी गर्न प्रयोग गर्दै आएको बन्दुक लगायतका हतियार इलाका प्रहरी कार्यालयमा बुझाउन सात दिनको म्याद दिएका छौँ”, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं वडा नं ८ का अध्यक्ष बहादुर महराले भने ।
सात दिनभित्र हतियार नबुझाए चोरी–शिकारी गर्ने समूहको पहिचान गरी प्रचलित कानूनबमोजिम हँदैसम्मको कार्वाही गरिने उनले बताए । चोरी–शिकारीमा संलग्नको पहिचान गर्नका लागि वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय क्लबको सहयोग लिइने बताइएको छ ।
चोरी–शिकारीमा संलग्नले बँदेल, मृग लगायतका जनावरको शिकार गरी अवैधरुपमा असुरक्षित मासु नजिकका बजारका होटलमा लगेर बेच्ने गरेका छन् । बाघ, चितुवा, भालु लगायतको छाला निकाली तस्करीको कार्यसमेत हुने गरेको बताइएको छ । अवाञ्छित कार्यमा संलग्न समूहमा हिँड्ने र शिकार गर्नका लागि जंगलमै बास पनि बस्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
चुरे क्षेत्रमा पर्ने आधा दर्जनभन्दा बढी सामुदायिक वनका पदाधिकारीसमेत वन्यजन्तुलाई चोरी–शिकारीबाट जोगाउनका लागि सामूहिक गस्तीको कार्यमा जुटेका छन् । रात्रि र दिउँसो गरी वन क्षेत्रमा गस्तीको कार्य गरेपनि हालसम्म चोरी–शिकारीमा संलग्नलाई भेटाउन नसकेको सामुदायिक वनको संरक्षणमा संलग्न लालबहादुर महराले बताए ।
“संरक्षणकर्मीको गस्ती एक वनमा जाँदा चोरी–शिकारीमा संलग्न चाल पाएर अर्को वनमा छिर्ने गरेकाले पक्रन सकेका छैनौँ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस