–हरिवंश आचार्य
तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।
चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।
घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।
तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।
प्रतिक्रिया दिनुहोस