चुनाव

राष्ट्रिय सभाको ५६ सिटमा आज मनोनयन दर्ता हुँदै

बुधबार, १० माघ २०७४, ११ : ४९
राष्ट्रिय सभाको ५६ सिटमा आज मनोनयन दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूले आज (बुधबार) उम्मेदवार मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवार मनोनयनपत्र दर्ता गरिनेछ । राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि उम्मेदवारी दर्ता हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमार्फत बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गरिनेछ । उम्मेदवारी दर्ताका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, १० हजार रुपैयाँ धरौटी रकमको बैंक भौचर रसिद आवश्यक पर्ने ढकालले बताए ।

यसैगरी, दलका उम्मेदवारको हकमा मनोनयनको औपचारिकपत्र, दलित सदस्यको हकमा सम्बन्धित गाउँपालिका, नगरपालिका वा सरकारबाट दलित समुदायको व्यक्ति भएको प्रमाणित निस्सा, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक सदस्यको हकमा सरकारबाट दिइएको अपांगता भएको प्रमाणपत्रको प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित निस्सा पेस गर्नुपर्नेछ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जना सदस्यमा तीन महिला, एक दलित र एक जना अपांगता भएको व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने कानुनी व्यवस्था छ । बाँकी तीन सदस्य भने खुलाबाट निर्वाचित हुनेछन् ।उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्नेछ ।

त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्नेछ । तर, त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ । माघ २४ मा हुने निर्वाचनमा भाग लिनका लागि आयोगमा २१ दलले दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस