वाइसिएलद्धारा न्यानो कपडा वितरण

बुधबार, १० माघ २०७४, १० : ०९
वाइसिएलद्धारा न्यानो कपडा वितरण

पर्सा । शीतहलरबाट सर्वसाधारणको ज्यान जोगाउन वाइसिएल केन्द्रीय समितिले २ नं प्रदेश अन्तर्गतका ६ जिल्लामा न्यानो कपडा तथा कम्बल वितरण गरेको छ ।

विगत एक महिनादेखि परेको लगातारको शीतलहरका कारण चिसो थेग्न नसकी सर्वसाधारणले ज्यान गुमाएको समाचार सुनेपछि तराईका गरिब तथा असहायको ज्यान रक्षाका लागि २ नं प्रदेश अन्तर्गतका ६ जिल्लामा वाइसिएल केन्द्रीय समितिले न्यानो कपडा तथा कम्बल वितरण गरेको हो ।

प्रेस सेन्टर पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाइसिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटाले मध्य तराईका ६ जिल्लाका एक हजार २२५ परिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिएको जानकारी दिए ।

उहाँले २ नं प्रदेशको महोत्तरीका १२४ परिवार, धनुषाका १३६, सप्तरीका ३३६ परिवार, सर्लाहीका १०७, रौतहटका ३०४ परिवार र पर्साका २१८ परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गरेको बताए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले तराईमा परेको शीतलहर र चिसोका कारण नभई गरिबीका कारण सर्वसाधारणको मृत्यु भएको दाबी गरे । उनले तराईका जिल्लामा व्याप्त रहेको गरिबी निवारणका लागि नेपाल सरकारले वर्षमा अर्बौं रुपैयाँ खर्च गरे पनि सरकारी रकम लक्षित वर्गसम्म पुग्न नसकेका कारण प्रत्येक वर्ष चिसोले तराईमा गरिब नागरिकको मृत्यु हुने गरेको बताए ।

नेपाल सरकारले गरिबी निवारणका लागि विनियोजित गरेको रकम गरिबको आर्थिक अवस्था सुधारका लागि खर्चिनुपर्ने भए पनि राजनीति दलका नेता, कार्यकर्ता तथा कर्मचारीको कमजोरीका कारण प्रत्येक वर्ष सयकडौँ गरिब चिसोले ज्यान गुमाउने परिपाटीको अन्त्यका लागि नागरिक समाजले प्रयास गर्नु आवश्यक रहेको धारणा अध्यक्ष सापकोटाले व्यक्त गरे । उनले वीरगन्जको छपकैयामा लालपुर्जा भएको जग्गा भारततर्फ गाभिएको विषयले समेत वाइसिएल केन्द्रीय समितिको ध्यानाकर्षण गरेको बताए ।

नेपाल सरकारले वितरण गरेको लालपुर्जा भएका नम्बरी जग्गा भारततर्फ कुनै पनि हालतमा गाभिन नहुने बताउँदै अध्यक्ष सापकोटाले सीमांकन गर्दा नेपाली भूभाग भारतमा गाभिने कार्य गरिए नेपाली भूमिको रक्षाका लागि वाइसिएल सिमानामा टेन्ट गाडेर धर्ना दिन तयार रहेको उनको भनाइ रहेको छ । छपकैयामा भइरहेको सीमांकनमा नेपाली नागरिकको नम्बरी जग्गा भारतमा गाभिने प्रयास गरे सो विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी अध्यक्ष सापकोटाले दिए ।

प्रेस सेन्टर पर्सा शाखाका अध्यक्ष निरज पिठाकोठी मगरको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा वाइसिएलका महासचिव सुबोध श्रीपाइली, सचिव सुनित ढुंगाना, २ नं प्रदेश संयोजक शंकर महतो तथा केन्द्रीय सदस्य विमल पौडेल लगायतको उपस्थिति रहेको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस