रंगशालाको डीपीआर बनेपछि सडक विस्तारको काम, स्थानीयको माग सम्बोधन हुन्छ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १७ : १४
रंगशालाको डीपीआर बनेपछि सडक विस्तारको काम, स्थानीयको माग सम्बोधन हुन्छ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको डीपीआर आएपछि सडक विस्तारको काम हुने बताउनु भएको छ ।  उहाँले स्थानीयको माग सम्बोधन गरेरमात्र रंगशाला निर्माणको काम अगाडि बढाइने समेत बताउनु भएको छ ।

वडा कार्यालयबाट सडकको समस्यालाई लिएर पत्र आएपछि महानगरले पत्र पठाएर डीपीआर आएपछि सडक विस्तारको काम हुने जानकारी दिएको थियो । रंगशालाको डीपीआर आएपछि कहाँ, कति सडक छोड्नुपर्छ, त्यो छोड्न तयार भएको जानकारी यसअघि नै गराइएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । डीपीआर नआउँदै रंगशालाको बार भत्काइनु अत्यन्तै दुखद् भएको उहाँको भनाइ थियो । उहाँले स्थानीयलाई उठिबास लगाइँदैछ भनेर भ्रम फैलाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीयलाई नै उठिबास लगाएर रंगशाला बनाइँदैछ भनेर जुन भ्रम फिजाइँयो, त्यो अत्यन्तै गलत छ । हामीले त रंगशालाको डीपीआर आएपछि सडकलाई छोड्नुपर्ने जग्गा छोड्छौँ भनिरहेका थियौँ, तर अचानक रंगशालाको बार भत्काइनु दुःखद भयो ।

महानगर प्रमुख रेनु दाहालले यसअघि भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको थियो । ‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु ।

महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न विज्ञप्तिमा भनिएको छ । यसअघि भरतपुर १५ मा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार डोजर लगाएर भत्काउने समूहलाई कडा कारबाहीको माग गरिएको छ । वडा नं १५, १६ र १७ का नेकपाका स्थानीय नेताहरुले विज्ञप्ति जारी गरी अराजक समूहले डोजर लगाएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–नेकपा पार्टीको नाम जोडिएर केही नामहरु सार्वजनिक भएकामा ती व्यक्तिहरुको पनि निष्पक्ष छानविन गरी पार्टीको सांगठनिक कारबाहीको लागि वडा नं १५, १६ र १७ जोडदार माग गर्दछौँ । विज्ञप्तिमा रंगशाला निर्माणको लागि सहज वातावरण बनाउन लागिपर्ने जनाइएको छ ।
 


 

प्रतिक्रिया दिनुहोस