नेकपाको बैठक निष्कर्षमा नपुगी सकियो, के थियो कारण ?

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १५ : ४२
नेकपाको बैठक निष्कर्षमा नपुगी सकियो, के थियो कारण ?

काठमाडौँ । नेकपाको सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ। जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे छिनोफानो गर्न बसेको नेकपाको बैठक बिनानिष्कर्ष टुंगिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक दोहोरो जिम्मेवारीमा मात्र केन्द्रित बन्यो । नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो। 
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीको कार्य व्यस्तताले लामो छलफल हुन नसक्दा भोलि फेरि बैठक बस्ने सहमति गरी बैठक टुंगिएको हो । जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज चयनका नीतिबारे विभिन्न पाटा र पक्षहरुबाट छलफल भएको थियो ।

भोलि बिहान ९ बजे बैठक बसेर जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने र त्यसपछि अरु विभाग र केन्द्रीय समितिबारे छलफल प्रवक्ता श्रेष्ठको भनाइ थियो । प्रवक्ता श्रेष्ठले नेताहरुबीच कुनै विवाद नरहेको र भोलि बस्ने बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउनेछ । 

बैठकमा प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्र यसबारे निर्णय गर्ने कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, बहुसंख्यक नेताहरु यसको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस