मौसम परिवर्तन

मनाङ र गोरखामा भारी हिमपात, मनाङमा १० पर्यटक सम्पर्कविहीन

बुधबार, १० माघ २०७४, १० : ०४
मनाङ  र  गोरखामा भारी हिमपात, मनाङमा १० पर्यटक सम्पर्कविहीन

मनाङ ।  मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

गोरखामा हिमपात
गोरखाको उत्तरी भेगमा भारी हिमपात भएको छ । जिल्लाको उत्तरी सीमानामा पर्ने सामागाउँ, साम्दु, लो, चुम्चेत, गुष्टिपाखा, स्वाँरा लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजिवन कष्टकर हुँदै गएको छ । लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात भैसकेको छ । हिमपात अझै जारी रहेको रिजालले बताए ।

पश्चिमी बायुवको प्रभावको कारण आज देशभरको मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखी पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस