नेपालको सैन्य तालिममा समेत अमेरिका–चीनको समारिक स्वार्थ

नेपाली सेनाले मुस्ताङ र बारामा दिने तालिममा दुई महाशक्ति राष्टको स्वार्थ टकराउन थालेको छ । मुस्ताङमा अमेरिकी सेना र बारामा चिनियाँ सैनिकको बाहुल्यता छ ।

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, ०७ : ५१
नेपालको सैन्य तालिममा समेत अमेरिका–चीनको समारिक स्वार्थ

काठमाडौं । इन्डो प्यासेफिक र बिआरआईको चेपुवामा नेपाल पर्न थालेको छ । दुई महाशक्ति राष्टहरुको स्वार्थ टकरावका कारण नेपालमा अमेरिका र चीन दुबैका सामारिक स्वार्थ टकराउन थालेको छ । यस्तो स्वार्थ टकराव नेपाली सेनाले दिने तालिममा समेत देखिन थालेको हो । नेपाली सेनाले दिने तालिममा अमेरिका र चीनको समारिक स्वार्थ देखिन थालेको छ ।

सेनाले मुस्ताङ र बारामा दिने तालिममा दुई महाशक्ति राष्टको स्वार्थ टकराउन थालेको हो । मुस्ताङमा हुने तालिममा अमेरिकी सेनाको बाहुल्य छ भने बाराको तालिममा चिनियाँ सैनिकको सहभागिता बढी देखिन्छ । मुस्ताङको जामेसोममा सेनाको माउन्टेन वारफेयर तालिम केन्द्र छ । सन् १९९० देखि हालसम्म यहाँबाट ४६ अमेरिकी सैनिकले तालिम लिएका छन, जुन चिनियाँ सैनिकभन्दा दोब्बर बढी हो । उक्त अवधीमा २५ चिनियाँ सेनाले यो तालिम लिएका छन् । यसबाहेक गत माघ ०७५ मा अमेरिकाको इन्डोप्यासिफिक कमान्डका ७ सैनिकले नेपाली सेनासँग मुस्ताङमा संयुक्त उच्च हिमाली युद्दकला अभ्यास गरेका थिए ।  मुस्ताङको तालिम केन्द्र अमेरिकी सेनाकै सहयोगमा स्थापना भएको हो । नेपालको मैदानी भूगोलको अबस्थित बाराको जंगल वारफेयर तालिम केन्द्रमा भने ठीक उल्टो छ । जंगल वारफेयरमा तालिम लिन अमेरिकी सेनाभन्दा चिनियाँ सेनाको रुची बढी देखिन्छ । सन् २०११ मा स्थापना भएको जंगल वारफेयर तालिममा अहिलेसम्म ४ अमेरिकी सेना सहभागी भएका छन भने चिनियाँको संख्या ५ गुणा बढी छ ।

चार वर्षयता अमेरिकाले आफना सैनिकलाई जंगल वारफेयरको तालिममा पठाउन छाडिसकेको छ । सन् २०१५ मा २ सैनिक पठाएको अमेरिका त्यसयता आएको छैन । जबकी चीनले सुरुदेखि नै वर्षेनी २ जना पठाउँदै आएको छ । सेनाले माउन्टेन वारफेयर, जंगल वारफेयर सहित कमान्ड एन्ड स्टाफ, प्यारा वेसिक, आर्मी अफियर्स क्याडेट तालिममा विदेशी सैनिकलाई सहभागी गराउँदै आएको छ । सैन्य कुटनीतिका हिसाबले विभिन्न मुलुकलाई यस्ता तालिममा सहभागीता गराइने विश्वब्यापी चलन छ ।

यद्यपी चीनको ध्यान दक्षिणतिर र अमेरिकाको आर्कषण उत्तरतिर बढी रहेको तथ्यांकले देखाउँछ । नेपालको भूराजनीतिक अवस्थितीले विश्व महाशक्तिको होडबाजीमा रहेका यी दुई मुलुकलाई दक्षिण र उत्तरतिर पु¥याएको बुझन गाहो छैन । मुस्ताड चिनसँग जोडिएको जिल्ला हो भने बारा भारतसँग जोडिएको जिल्ला हो ।

 अमेरिका, चीन र भारत नेपाली सेनामा पकड राख्न चाहन्छन् । सेनामाथी परम्परागत प्रभाव छ, भारतको । ०६३ को परिवर्तनपछि यसमा चीन महत्वाकाक्षी बनेर आयो । ०६८ देखि भारत र नेपालबीच ६÷६ महिनाको अन्तरालमा अभ्यास सूर्यकिरण नामक दुई देशिय सैन्य अभ्यास हुदै आएको छ ।

अमेरिका र नेपालबीच पनि यस्तो अभ्यास हुदै आएको छ । सन्, २०१७ मा टेक नेल नाम दिएर दुई मुलुकबीच सैनिक अभ्यास गरिएको थियो । अमेरिकाले विपद् ब्यवस्थापनमा नेपाली सेनासँग लामो समयदेखि साझेदारी गदै आएको छ ।
शक्तिराष्टहरुको स्वार्थ टकराव नेपालमा सैन्य तालिममा पनि देखिन थालेको नेपाली सेनाका पूर्व सहायक रथी नेपालभूषण चन्द बताउँछन् ।  ‘अमेरिकाका लागि मुस्ताङ इतिहासदेखि नै रुचीको भूगोल हो । नेपालमा आधार बनाएर उसले चीनलाई चुनौति दिन खोज्छ । त्यसका लागि मुस्ताङ उसको अनुकुल देखिन्छ ।’– चन्द बताउँछन् ।
अर्का एक सेनाका साहायक रथी भन्छन्, – ‘चीनले पनि आफुमाथीको चुनौति कम गर्न सीमा जोडिएको बारामा उपस्थिती देखाएर भारतलाई सन्देश दिन खोजेको हुन सक्ने छ ।’

 

प्रतिक्रिया दिनुहोस