रंगशाला निर्माणमा जुटे स्थानीय, सयौंले गरे श्रमदान

सफल खबर संवाददाता

आइतबार, १९ जेठ २०७६, ११ : २९
रंगशाला निर्माणमा जुटे स्थानीय, सयौंले गरे श्रमदान

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अराजक समूहबाट भत्काइएको तारबार शनिबार ठड्याएका स्थानीयवासी आइतबारदेखि श्रमदानमा जुटेका छन् ।
आइतबार बिहान सात बजेदेखि दस बजेसम्म श्रमदानमा जुटेका स्थानीयवासीले यत्रतत्र छरिएका निर्माण सामग्री एकत्रित गरेका थिए । उनीहरु काँडेतार काटेर पोल छुटाउने, जस्तापाता संकलन गर्ने, बार बनाउने ठाउँ व्यवस्थित गर्ने काममा व्यस्त बनेका थिए । श्रमदानमा महिला सहभागिता उल्लेख्य रहेको थियो ।
श्रमदानमा सयौंको संख्यामा वडा नम्बर १५ र १६ का बासिन्दा सहभागी थिए । दिउँसो तीन बजेदेखि साँझसम्म पनि श्रममा जुट्ने कार्यक्रम तय भएको १६ नम्बर वडावासी इन्द्रबहादुर बस्नेतले बताउनु भयो । ‘हामीबाट भएको गल्ती हामी नै सुधार्छौं’ उहाँले भन्नुभयो, ‘हामी अझ धेरै सक्रिय भएर रंगशाला निर्माण कार्यलाई सफल बनाउन सक्रिय रहने छौं ।’
स्थानीयवासीले ट्याक्टर, जेसीबी र आवश्यक उपकरण ल्याएका थिए । अपुग र आवश्यक केही सामग्री धुर्मुस सुन्तली फाउण्डेशनले उपलब्ध गराएको प्रोजेक्ट मेनेजर अर्जुन न्यौपानेले बताउनु भयो । उहाँले स्थानीयको श्रमदानले परिस्थितिलाई सहज बनाउने काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘परिस्थितिलाई सहज बनाएर स्थानीयवासीको साथ र सहयोगले अगाडि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस