पहिरनका कारण वर्षा ट्रोलको शिकार

सफल खबर संवाददाता

शनिबार, १८ जेठ २०७६, २२ : ०८
पहिरनका कारण वर्षा ट्रोलको शिकार

काठमाडौं । ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त फिल्म क्षेत्रमा निकै चर्चित छ । अभिनयको दमले चम्किन नसक्नेहरु आफूलाई गुमनाम हुन नदिन बदनाम अर्थात् स्क्यान्डलको सहारा लिन्छन् । नेपालमा धेरै कलाकारहरु यस्ता छन्, जो गुमनाम हुने डरले स्क्यान्डल मच्चाइरहेका हुन्छन् । केही वर्ष अगाडिसम्म अभिनेत्री रेखा थापा यो बाटोमा थिइन् । अहिले उनको पदचाप अभिनेत्री प्रियंका कार्कीले पछ्याएकी छन् । 
 
नेपाली अभिनेत्रीहरुलाई स्क्यान्डल मच्चाउन गर्नुपर्ने सबै हत्कण्डाको राम्रो ज्ञान छ । कसैलाई घोच पर्ने गरि अभिव्यक्ति दिएर होस् वा कहिले पहिरनको सहारा लिएर होस्, कुन माध्यम प्रयोग गर्दा आफ्नो चर्चा हुन्छ नेपाली अभिनेत्रीहरुलाई कसैले सिकाउनु पर्दैन । मिडियामा दुई/चार दिन चर्चा भएन भने उनीहरुको भोक-निन्द्रा उड्छ । अनि, तुरुन्तै स्क्यान्डल र गसिप पिटाउन थाल्छन् । 
 
चर्चाकी भोकी अभिनेत्रीको लिस्टमा वर्षा राउत पनि पर्छिन् । बजारमा आफ्नो कुरा समेत कसैले नकाटेको महशुस भयो भने सामाजिक सञ्जालमार्फत् होस् वा मिडियामा आएर, उनी कसैप्रति लक्षित गरेर तीखो प्रहार गर्न कुनै कसर छाड्दिनन् । केही दिन अगाडि आफ्नो फिल्म रिलिजको बेला आँशु झारेर दर्शकलाई इमोसनल ‘ब्ल्याकमेल’ गर्ने अभिनेत्रीमाथि उनले कडा प्रहार गरिन्, ‘फिल्म रोएर चल्दैन । फिल्म चल्न फिल्म आफैंमा राम्रो हुनु पर्छ ।’ 
 
फिल्ममा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसो एकाएक ट्रोलको शिकार भइन् । कारण हो, पहिरन । अहिले उनी अष्ट्रेलियामा छिन् । आफू अभिनीत फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी त्यहाँ पुगेकी हुन् । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस