खानेपानी मन्त्रीद्वारा सहकारी र नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरको सिपाडोलमा बन्न लागेको पानी ट्याङ्कीको शिलान्यास

सफल खबर संवाददाता

शनिबार, १८ जेठ २०७६, १४ : ०७
खानेपानी मन्त्रीद्वारा सहकारी र नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरको सिपाडोलमा बन्न लागेको पानी ट्याङ्कीको शिलान्यास

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको आज शनिबार शिलान्यास गर्नु भएको छ । 

सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास खानेपानी मन्त्री मगरले एक समारोहका बीच गर्नु भएको हो । 
उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्य विनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको हो । 
खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ । 

उक्त ट्याङ्कीको कूल लागत ६५ लाख रहने समितिले जनाएको छ । पानी ट्याङ्की निर्माण सम्पन्न भैसके पछि करिब १५ हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुनेछन् । 
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले  शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभयो ।
 
मन्त्री मगरले भन्नु भयो, "खानेपानीको क्षेत्रमा देशै भरी उपभोक्ता समितिहरुको लगानी रहेको छ । त्यसमा राज्यको पनि लगानी हुन्छ । कतिपय अवस्थामा खानेपानीका लागि लगानी जुटाउनु पर्ने चुनौती रहेकोे बेला सहकारीले यसरी लगानी गर्दा आयोजना अगाडि बढाउन गार्‍हो हुँदैन । यो सोच र मोडालिटी खानेपानीको लागि उपयोगी हुनेछ ।" 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खानेपानीको लागि यसरी गरिने सामुहिक लगानी अति महत्त्वपूर्ण रहेकोे बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस