नेपाल–भारत सम्बन्ध सन्तुलित हुन्छ : देवेन्द्र पौडेल

मंगलबार, ०९ माघ २०७४, १७ : ११
नेपाल–भारत सम्बन्ध सन्तुलित हुन्छ  : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर भारत र चीनसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौमा भएको कार्यक्रममा नेता पौडेलले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध पञ्चशील र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा अघि बढ्ने भएकोले एक देशले अर्को देशलाई सम्मान गर्दै आपसी हित अनुसार नै अघि बढ्ने बताए ।

उनले भने,‘नेपाल र भारतवीच सामाजिक–साँस्कृतिक सम्बन्ध जो छ, क्षेत्रिय सम्बन्ध छ, त्यसलाई निरन्तरत दिनुपर्छ, द्धिपक्षीय सम्बन्धमा देखिएका सन्धिसम्झौतादेखि सिमा विवादका समस्याहरुलाई भारतीय पक्षले चासो लिएर हल गर्नुपर्छ ।’

नेता पौडेलले दुई देशवीचको सम्बन्ध सुधारमा प्रयासहरु भैरहेको विश्वास व्यक्त गरे ।भने,‘अहिले सम्बन्ध सुधारको लागि प्रयासहरु भैरहेका छन्, नेपालले भन्दापनि भारतीय पक्षले पहलकदमी लिँदा अझ धेरै राम्रो हुन्छ ।’
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए । उनले भने,‘राज्यस्तरको सम्बन्ध भन्दापनि आपसी सम्बन्ध, खासगरी जनस्तरको सम्बन्ध जो छ, यो अति विशिष्ट छ, रगतस्तरको सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ ।’ उनले २२ लाख नेपाली चेलीहरु भारतीयसँग र २६ लाख भारतीय चेलीहरु नेपालीसँग वैवाहिक सम्बन्धमा बाँधिएको समेत जनाए ।

यद्यपी नेता सुमनले स्वाभिमानको नाममा र राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने काम भैरहेको भन्दै त्यसमा दुःख व्यक्त गरे ।  
कार्यक्रममा खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र सुमधुर भएर अघि बढ्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस