रंगशालाको बार भत्काएकोमा स्थानीय आक्रोशित, दोषीलाई कारबाही गर्न माग

१६ जना प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १४ : ४९
रंगशालाको बार भत्काएकोमा स्थानीय आक्रोशित, दोषीलाई कारबाही गर्न माग

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार लगायतका संरचना केही व्यक्तिले भत्काइदिएका छन् । आज विहान उनीहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन् ।

स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो । भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 
स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आप्mनो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन् । उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताइन् ।

सामाजिक सञ्जालमा भेटिएको एउटा प्रतिक्रिया यस्तो छ,

क्रिकेट रङ्गशालाको वालमाथि लगाइएको डोजर चितवनबासी र सिङ्गो नेपालीको भविष्यमाथि लगाइएको डोजर हो। चितवनमा रङ्गशाला बन्दा धुर्मुस–सुन्तली वा प्रचण्ड–रेनुको भविष्य बन्ने होइन, चितवनका आम नागरिकको भविष्य बन्ने हो, आम नेपालीको भविष्य बन्ने हो। चितवनमा रङ्गशाला बन्दा विशुद्ध खेल क्षेत्रको मात्र विकास हुन्छ भन्ठान्नु लघुताभाष हो, छोटो र मोटो बुद्धि मात्र हो।

प्रतिक्रिया दिनुहोस