प्रहरी प्रधान कार्यालयद्धारा नवराज सिलवालाई खोज्न डिफ्यूजन नोटिस जारी

सोमबार, ०८ माघ २०७४, १४ : १८
प्रहरी प्रधान कार्यालयद्धारा नवराज सिलवालाई खोज्न डिफ्यूजन नोटिस जारी

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ ।

प्रहरी  प्रधान कार्यालय उच्च स्रोतले सिलवाललाई देशका विभिन्न स्थानमा खोज्दा  नभेटिएको र विदेशमा रहेको भन्ने सूचनाका आधारमा सोमबार इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरिएको जानकारी दियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको  अनुरोधको आधारमा प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको हो ।  डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।
आईजीपी बढुवा विवादमा सिलवालले सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहरपछि यसमा प्रहरीले अनुसन्धान अघि बढाइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि ललितपुर प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि सिलवालसँग सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित गराइदिन पत्राचार गरेको थियो । तर एकसातापछि ललितपुर प्रहरीले फेला नपारेको भन्दै  काठमाडौंलाई पत्र पठाएको थियो । । त्यसलगत्तै प्रहरीले खोजीका लागि देशैभरका प्रहरीलाई पत्राचार गरेको थियो ।
त्यति गर्दा पनि उनी पक्राउ नगरेपछि देशबाहिर भएको भन्ने सूचनाका आधारमा प्रहरीले नोटिस जारी गरेको बताइएको छ ।  उनले दुई दिनअघि आफू विदेशमा नभएको  र नेपालमै भएको दाबी गर्दै भाइबरमार्फत एक अनलाइनलाई अन्तर्वार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस