– मीना घोरसाइने
काठमाडौँ । नेपाली समाजमा कुनै पुरुषले कुमारी केटीसँग शारीरिक सम्बन्ध राखेर शिशु जन्मियो भने त्यसको भागीदार महिलालाई मात्र मान्ने गरिन्छ । उक्त केटीलार्ई समाजबाट पनि बहिष्कारसमेत गरिन्छ । यो कुरा कहिल्यै सोचिन्न कि महिला स्वयंको इच्छाले मात्र शिशु जन्मिँदैन । एउटै जातका केटा र केटी भए उक्त सम्बन्धले विवाहको रुप लिन सक्छ तर पुरुषभन्दा महिलाको जात कथित तल्लो छ भने उनले झनै ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।
एक कुमारी आमाले आफ्नो सन्तानलाई हुर्काउन कस्ता खाले समाजका लान्छनालाई पार गर्दै जान्छिन् भन्ने कथालाई समेटेर उपन्यासकार सीमा पुरीले ‘परी’ उपन्यासमार्फत चित्रण गर्न खोज्नुभएको छ । पुरीले उपन्यासमार्फत नेपाली समाजमा विद्यमान जातीय छुवाछुतलाई समेत उजागर गर्न खोज्नुभएको छ । उहाँले उपन्यासमा एक कुमारी आमाले विकट ठाउँबाट काठमाडौँ आइपुगेर आफ्नी छोरीलाई कस्तो सङ्घर्षबाट वकिल बनाउँछिन् भन्ने कथा समेट्नु भएको छ ।
कथानुसार कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’ हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । परीको एउटै मात्र सपना सरस्वतीलाई कुमारी आमाको दर्जाबाट विवाहित नारी भएको हेर्ने र आमालाई धोका दिने धोकेबाजलाई सजायँ दिने हुन्छ ।
आमाले परीलाई कलेजको क्यान्टिनमा काम गरेर उनको लालनपालन गरेकी हुन्छिन् । एकदिन परीले वकिल भएर आमाको सपना पूरा गर्न सक्छिन् । परीको आफ्नो कमाइको आमालाई पहिलो उपहार ‘पछ्यौरा’ हुन्छ । छोरीको पहिलो कमाइबाट पाएको उपहारलाई आमा अमूल्य ठान्छिन् । आफ्नो वेदना कहिल्यै छोरीलाई नसुनाएकी आमाले उक्त दिन आफू कसरी कुमारी आमा बन्न पुगेको भन्ने सुनाउने निधो गर्छिन् । सानैमा सरस्वतीकी आमाको मृत्यु भएकाले क्षेत्री जातका बुवाले अर्कै आमा ल्याएका हुन्छन् । उनलाई पढ्न मन लागे पनि सौतेनी आमाका छोराछोरी हेर्नुपर्ने बाध्यताका कारण पढाइलाई अधूरै छाड्न बाध्य भएकी हुन्छिन् । सरस्वतीका बुवा गाउँका जान्नेबुझ्ने व्यक्ति हुन्छन् । उनलाई गाउँमा सबैले मान्ने गर्छन् ।
खानलाउन दिएर छोरीको आवश्यकता पूरा हुन्छ भन्ने उनका बुवाको सोचाइ हुन्छ तर उनी भने कसैको माया पाउनका लागि सधैंँ तड्पिरहेकी हुन्छिन् । एक दिन उनका बुवाले गाउँको विद्यालयका लागि आएका शिक्षक पीताम्बर उपाध्यायलाई आफ्नै घरमा लिएर आउँछन् । उनी त्यस गाउँको विद्यालयमा पढाउञ्जेल उनकै घरमा बस्नका लागि आएका हुन्छन् । उक्त शिक्षकले सरस्वतीलाई पनि धेरै कुरा सिकाउँदै जान्छन् । विस्तारै उक्त शिक्षक र सरस्वती एकार्काको मायामा पर्न थाल्छन् । उनै पीताम्बरसँग मायामा परेपछि सरस्वती गर्भवती बन्न पुग्छिन् । सरस्वतीलाई उनको परिवारले पनि विनाविवाह गर्भवती भएकाले स्वीकार गर्न सक्दैन ।
पीताम्बर उनलाई आफ्नो नामको सिन्दुर पोते लगाइदिएर समाजमा आफ्नी श्रीमतीको दर्जा दिन धेरै सङ्घर्ष गर्छन् तर पीताम्बरको परिवारले पनि उनलाई स्वीकार गर्दैन । परिवारकै आग्रहमा पीताम्बरको अर्कै केटीसँग विवाह हुने पक्का हुन्छ । अन्ततः पीताम्बरले उनलाई आफन्त पर्ने दिदीको घरमा लगेर राख्छन् । पीताम्बरको विवाह भएकै दिन सरस्वतीले परीलाई जन्म दिएकी हुन्छिन् । पीताम्बरको विवाह भइसकेपछि उक्त गाउँमा बसेर आफ्नी छोरीलाई पहिचान दिन नसक्ने कारणले गर्दा उनी काठमाडौँ आइपुगेकी हुन्छिन् । सरस्वतीले आफ्नी छोरीलाई सम्झाउँदै भन्छिन्, “छोरी, तिम्रो शरीरभरि रातो रगत सल्बलाएको छ । तिम्रो बाबा पानी थियो, उसको अस्तित्व सब मभित्र घोलिएर रातो रगत बन्यो । ऊ मभित्र मिसिएर मलाई पानी बनाउन सकेन । ऊ आफँैं मभित्र मिसिएर रगत बनेर रह्यो । तिमीभित्र मेरो रगत छ भन्ने मात्र सोच तिमी ।”
सानैदेखि समाजमा घृणाको पात्र बनेकी परी आमाले आफ्नो कथा सुनाइसकेपछि मामाघर र आफ्नो पिताप्रति उनको मनमा थप घृणाको भावना पैदा हुन्छ । उनी अधिवक्ता बन्छिन् । एक दिन उनको मामाको मुद्दा आइपुग्छ । आफ्नी आमा घृणाको पात्र बनेर सबैबाट चरित्रहीन भनिएको पीडालाई सम्झिएर उनले मामाको मुद्दा नहेराँैं कि भनी सोच्छिन् । उनले मामाको मुद्दा हेरेरै छाड्छिन् र जिताउँछिन् पनि । मुद्दा जितेर छुट्टिने बेलामा मामाले उनलाई मुद्दावापतको रकम दिन सोध्छन् तर परीले रकम आफूले अहिले नै नलिने, आफूले दिएको ठेगानामा ल्याएर छाडिदिन आग्रह गर्छिन् र ठेगाना छाडेर जान्छिन् । परीको उद्देश्य आमा र मामाको भेट गराउने उद्देश्य हुन्छ ।
मामाकै ठेगानाका आधारमा उनी शिविरको बहाना पारेर आफ्ना हजुरबुवा र बुवाको घरमा समेत पुग्छिन् । आफ्नो बुवा र हजुरबुवाले आफ्नी आमालाई घृणा गर्छन् भन्ने छवि दिमागमा बनाए पनि परी आमालाई बुवा र हजुरबुवाले धेरै माया गर्नुहुन्छ भन्ने थाहा पाउँछिन् । पहिले आफ्नो मनभित्र बदलाको भावना पालेकी परीले पछि आफ्नो बुवा र आमाको विवाह गराएरै छाड्ने निधो गर्छिन् तर यो काम सहज हुँदैन । धेरै सोचिसकेपछि आफ्नो अमेरिकामा रहेका भाइ प्रकाशको मद्दतबाट उनी आफ्ना आमा र बुवाको मिलन गराउन सफल हुन्छिन् । जातीय छुवाछुतका कारण ब्राह्मण र क्षेत्रीको मिलन हुन नपाएको समाजमा गुरुङ थरको केटासँग परीको विवाह हुन्छ ।
चलचित्रको दृश्यजस्तै उपन्यासकारले थुप्रै प्रसङ्गलाई रचनात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । महिलाले चाहे भने कसैको सहाराविना नै आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश उपन्यासमा पाइन्छ । उपन्यासकारले आफ्नो कृतिमार्फत समाजमा विद्यमान जातीय छुवाछुतलाई उजागर गर्न खोज्नुभएको छ भने एकै आमाबाट जन्मिएका सन्तानभन्दा फरक आमाबाट जन्मिएका सन्तानको सम्बन्ध मजबुत हुन्छ भन्ने कुरालाई पनि उजागर गर्न खोज्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस