पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु

सोमबार, ०८ माघ २०७४, १० : २०
पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु

इलाम । इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा यस वर्षदेखि पशु विज्ञानमा पढाई शुरु भएको छ ।

पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो । ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको यो शिक्षालयमा करिब २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्विका गौतमले बताए ।

पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र फरेस्टी तथा तेस्रो वर्ष फुड एण्ड डेरी विषयको पढाइ शुरु गरिने पनि शिक्षालयले जनाएको छ ।

छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भएको हो । आइतबार इलाम नगरपालिका–१ का वडाध्यक्ष गौतम र शिक्षालय प्रमुख होमनाथ अधिकारीले पढाइ सञ्चालन भएको घोषणा गरे ।
यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् भने तत्कालका लागि पाँचजना प्रशिक्षक रहेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस