मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

सोमबार, ०८ माघ २०७४, १० : १८
मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

नुवाकोट । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् ।

ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना २ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । शवपरीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।( रासस)

प्रतिक्रिया दिनुहोस