उत्तर कोरियाको ओलम्पिक सहभागीताले शान्ति कायम गर्ने दक्षिण कोरियाको प्रतिक्रिया

सोमबार, ०८ माघ २०७४, ०९ : ५१
उत्तर कोरियाको ओलम्पिक सहभागीताले शान्ति कायम गर्ने दक्षिण कोरियाको प्रतिक्रिया

उत्तर कोरियाले दक्षिणमा हुने ओलम्पिक्स खेलका लागि आफ्ना २२ खेलाडी पठाउने बताएपछि यसले निश्चित रुपमा दुई देशबीचको सम्पूर्ण समस्या समाधान गर्ने दक्षिण कोरियाले बताएको छ ।

आगामी महिनामा हुने ओलम्पिक्स खेलमा दक्षिण कोरिया र उत्तर कोरियाले सिङ्गो झण्डा प्रयोग गरी संयुक्त खेल खेल्ने भनिएको छ जसले कोरियाली प्रायद्विपमा लामो समयसम्मका लागि शान्ति स्थापना गर्ने विश्वास गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।

यसैको तयारीमा आइतबार उत्तर कोरियाका संगीत र कला क्षेत्रका अधिकारीहरु आएर मैदानको निरीक्षण गरिसकेका छन् । दक्षिण कोरियामा हुने ओलम्पिक्स खेलले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा सुधार ल्याउन लागेको भन्दै आइतबार ब्लु हाउसले यसप्रति खुसी व्यक्त गरेको हो ।

राष्ट्रपति मुन जे इनले पहिलेदेखि नै प्योङछाङ ओलम्पिक्सलाई उत्तर कोरियासँगको मुद्दा सुल्झाउने राम्रो अवसर रहेको बताउँदै आएका थिए ।
र यसै अनुरुप खेलको बाहानमा दुई देशबीचको समझदारी बढ्दो क्रममा रहेको उनले बताए ।

उत्तर कोरियाबाट आएका सबै अधिकारीहरुले दुई दिनसम्म खेलकुद हुने स्थानको निरीक्षण गर्ने बताएका छन् ।

गतवर्षको अत्यन्तै तनावपूर्ण परिस्थिति र अनेकौँ विवादपछि अन्त्यमा यी दुई देशबीच केही समस्या समाधान हुँदा यसलाई धेरैले सकारात्मक तरिकाले हेरेका छन् भने कतिले शंकास्पद पनि मानिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका हुन् । उत्तर कोरियाबाट आउने २२ खेलाडीहरु तीनवटा खेलमा र पाँच कार्यक्रममा सहभागी हुने बताइएको छ

प्रतिक्रिया दिनुहोस