प्रधानमन्त्री ओली आज भियतनाम जाने

३० वैशाखसम्म भियतनाममा रहने प्रधानमन्त्री त्यतैबाट कम्वोडिया पुगेरमात्र फर्किनेछन्

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, ०७ : ३१
प्रधानमन्त्री ओली आज भियतनाम जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट भियतनाम भ्रमणमा निस्कदैछन् । आज विहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको तहमा भियतनाममा पहिलो पटक नेपालको भ्रमण हुन लागेको हो । भियतनाम भ्रमणपछि प्रधानमन्त्री ओली त्यतैबाट कम्वोडिया भ्रमणमा जानेछन् । 
उनी जेठ १ गते मात्र स्वदेश फर्किनेछन् ।

साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा ओली औपचारिक भ्रमणमा हनोइ जान लागेका हुन् । त्यहाँ उनले ३० गतेसम्म रहनेछन् ।  

हनोइबाट प्रधानमन्त्री ओली ३० वैशाखमा भियतनामको छिमेकी देश कम्बोडियाको न्होमपेन जाने छन् । प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन् ।
प्रधानमन्त्री भएपछिको यो पाचौं विदेश भ्रमण हो ।

१५ मे १९७५ मा भियतनामसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पूरा भएको छ । तर आवासीय राजदूत समेत नभएको देशमा प्रधानमन्त्रीले भ्रमण गर्न चाहानुको उद्देश्यका विषयमा पनि नेपालमा अहिले चर्चा शुरु भएको छ ।

तर प्रधानमन्त्री ओली नेपालको पर्यटन प्रर्वधनका लागि त्यसतर्फ जान लागेको परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले बताए । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञावाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायतका प्रतिनिधी मण्डल सहभागी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस