काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आधार वर्षमा सफल भएको बताउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सरकारले एक वर्षलाई जुन आधार वर्ष भनेको थियो, त्यसमा सरकारले सफलता हासिल गरेको बताउनुभयो ।
संसदमा उहाँले भन्नुभयो, ‘एक वर्षको अवधिमा थुप्रै ऐन नियमहरु, कानुनहरु बनेका छन्, विकासका आधार खडा भएको छ, मलाई लाग्छ, यसमा सरकार सफल भएकै छ ।’ उहाँले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरण, व्यवसायीकरण, उत्पादन र रोजगारीमुखी बनाउन सकेनौँ भने हाम्रो समृद्धिको यात्रा समृद्ध नेपाल र सुखी नेपाली पूरा नहुने बताउनुभयो । उहाँले वैज्ञानिक भूमिसुधार, औद्योगीकरण, कृषिमा युवालाई आकर्षण गर्ने नीति अहिले सरकारको कार्यक्रममा छ, यो नीति लिएर अगाडि बढेमा सरकार सफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विकासको यात्रालाई सहज ढंगले अगाडि बढाउन अझै पनि सहमति र सहकार्यको आवश्यकता छ, विकास र समृद्धिमा को प्रतिपक्ष ? को सत्तापक्ष ? एउटै यात्रामा हामी हिँड्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले सरकारले एक वर्षको अवधिमा दुरगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको बताउनुभयो ।
उहाँले जनताको चाहना र भावनालाई सम्बोधन गर्ने अधिकतम कोशिस भएको पनि उल्लेख गर्नुभएको थियो ।
प्रतिपक्षले पनि राम्रो तयारी गरेर लिखित रुपमा आफ्ना धारणा प्रस्तुत गरेर बहसको नयाँ स्तर दिने कोशिस भएको भन्दै उहाँले त्यसको प्रशंसासमेत गर्नुभएको थियो ।
संसदमा उहाँले भन्नुभयो, ‘हिजो हामी ठूलठूला क्रान्ति गरेका थियौँ, हामी न्याय लिन सक्छौँ भन्ने आत्मविश्वासका साथ अभियान चलाएर यहाँसम्म आएका छौँ, अब विकासमा पनि हामी सबै आत्मविश्वासका साथ अगाडि बढ्यौँ भने, त्यो संकल्प गरेमा हामी सफल हुन्छौँ ।
उहाँले चीन र भारतको बीचमा नेपाल रहनु अभिसाप नभई वरदान भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले यो सरकारले चीन र भारतसँग भएका यसअघिका सम्झौता, सहमतिहरु अगाडि बढाएको र सम्बन्धमा धेरै सुधार गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ बैशाख २०७६, १२ : ५१
लेखकबाट थप