पदमपुरमा भीम्वली बाबा मेला लाग्ने, ठोक्कर नाँच मुख्य आकर्षण

सफल खबर संवाददाता

शुक्रबार, २० बैशाख २०७६, १९ : १७
पदमपुरमा भीम्वली बाबा मेला लाग्ने, ठोक्कर नाँच मुख्य आकर्षण

चितवन । चितवनको कालिका नगरपालिका ५ पदमपुरमा यहि वैशाख २४ देखि २७ गत्तेसम्म भीमवली बाबा मेला लाग्ने भएको छ । भीमवाली बाबा मन्दीर परिसरमा लाग्ने मेला विशुद्ध धार्मिक मेला रहेको मन्दिर संरक्षण समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
मेला सफल पार्न जयचन्द्र प्रसाद चौधरीको संयोजकत्वमा मेला व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरीएको छ । समितिले सरसफाई, प्रचार प्रसार, स्टल निर्माण लगायतका तयारी सुरु गरेको संयोजक चौधरीले जानकारी दिए । मेलमा दैनिक उपभोग्य वस्तुका ५० भन्दा बढि स्टल रहने जनाईएको छ ।
मेलाको पहिलो दिन २४ गत्ते भीमवली बाबाको मुर्ति प्राण प्रतिष्ठा गरीने मन्दीर संरक्षण समितिका अध्यक्ष नन्द प्रसाद भट्टराईले बताए । भारतको राजस्थानबाट ल्याईएको ११ क्विन्टल तौल र साढे ४ फिट उचाईको बाबाको मुर्ति विधिपुर्वक प्राण प्रतिष्ठा गरीने छ । 
दोस्रो दिन प्रस्तुत हुने ठोक्कर नाँच (मधेसी नाँच) मेलाको मुख्य आकर्षण रहने बताईएको छ । नाँचका लागी रौतहटबाट १८ जनाको टोली २५ गत्ते मेलामा आईपुग्ने चौधरीको भनाई छ । उनिहरुले ३ दिन विभिन्न धार्मिक विषय समेटीएको नाटक तथा कला कौसल देखाउनेछन । 
विश्वास
चितवनमा लाग्ने विभिन्न मेला महोत्सवभन्दा भीमवली बाबा मेला फरक रहेको आयोजकको भनाई छ । थारु बाहुल्यता रहेको पदमपुरमा विगतदेखिनै विश्वासका साथ बाबाको पुजा गर्नेगरीएको बताईन्छ । पदमपुर नयाँ वस्ती बस्नुअघिदेखि नै सो क्षेत्रमा विश्वासका साथ पुजा गरी माग्दा हराएको पसु चौपाय भेटिएको, चोरीका घट्नामा सम्लग्नको पहिचान भएको र केहि दुख कष्ट पर्दा शान्ति सुरक्षाको अनुभुति हुनेभएपछि  भीमवली बाबाको पुजाआजा गर्नेगरीएको जानकारहरु बताउछन । 
पुजा गरेपछि माग गरेको कुरा पुग्नेगरेकाले विश्वास बढ्दैजाँदा यसले अहिले व्यापकता पाउदै गएको मन्दीरका पुजारी चन्द्रदेव गुरौँ थारुले बताए । सो मन्दिरमा गुरौँ थरका थारु पुजारीले मात्रै पुजा गर्ने परम्परा रहेको छ । सो क्षोत्रमा ५ पाण्डवले पनि बास गरेको किम्वदन्ती रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस