तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता : भारत र नेपालका २ सय २० खेलाडी सहभागी

सफल खबर संवाददाता

विहीबार, १९ बैशाख २०७६, १६ : १४
तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता : भारत र नेपालका २ सय २० खेलाडी सहभागी

चितवन । तेस्रो इन्डो नेपाल कराँते प्रतियोगिता बिहीबारदेखि चितवनको मंगलपुरमा सुरु भएको छ । 
प्रतियोगिताको बिहीबार एक कार्यक्रमबीच कलाकार सिताराम कट्टेल धुर्मुसको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरेका हुन् । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल संघ चितवनद्वारा आयोजित प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । 
प्रतियोगितामा भारतका २० र नेपालका २ सय जना खेलाडी सहभागी भएको खेल संयोजक पुष्प आचार्यले जानकारी दिए । भरतपुर १५ मंगलपुरमा आयोजित प्रतियोगितामा विभिन्न ४५ विधामा १ सय ८० पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । 
आचार्यका अनुसार प्रतियोगितामा महिला तथा पुरुषका उमेर समूह, तौल समूह र खुल्ला गरी ३ समूहमा खेलाइने छ । ६ वर्षदेखि १३ वर्षसम्मका खेलाडीले उमेर समूहमा, १३ देखि १९ वर्षसम्मका खेलाडीले तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । १९ वर्षमाथिका खेलाडीले खुल्लामा प्रतिस्पर्धा गर्ने उनले बताए । 


चितवनबाट मात्रै ५२ जना खेलाडी सहभागी भएका प्रमुख प्रशिक्षक राजु पौडेलले जानकारी दिए । प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार रहेको पौडेले बताए । यस्तै बेष्ट काता र बेष्ट फाईटका ४ जनालाई ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । 
उद्घाटनको अवसरमा राष्ट्रिय खेलकुद परिषदका विशेष प्रशिक्षक तथा जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल महासंघ प्रदेश ३ का संयोजक गगन लामालाई ताम्रपत्रले सम्मान गरिएको थियो । यसअघि पहिलो इण्डो नेपाल प्रतियोगिता काठमाडौंमा, दोस्रो भारतमा भएको थियो । 
उद्घाटन कार्यक्रममा नेकपा नेता बद्री तिमल्सीना, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । वक्ताहरुले मुलुकमै पहिलो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेकाले सकेको सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस