अब मजुदरले ढुंगा हान्ने दिन गए : पूर्वअर्थमन्त्री पाण्डे

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १६ : ४२
अब मजुदरले ढुंगा हान्ने दिन गए :  पूर्वअर्थमन्त्री पाण्डे

चितवन । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताउनुभयो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पेशागत महासंघ नेपाल (कोनेप), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले १३० औं मजदुर दिवसको अवसरमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा संघीय सांसद तथा पूर्वअर्थमन्त्री पाण्डेले वर्तमान सरकार समाजवादतर्फ उन्मुख भइरहेको हुनाले मजदुरका समस्याहरु सबै हल हुने दाबी गर्नुभयो । 
कार्यक्रममा उहाँले अब जुलुस नै गरेर तलब बढाउनपर्ने, आन्दोलन गरेर हकअधिकार लिनुपर्ने अवस्था सिर्जना नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो मजदुरले ढुंगा हाने, ढुंगा खाए अब त्यो अवस्था आउने छैन, यो सरकारले यो अवस्था आउन दिनेछैन ।’
कार्यक्रममा नेता पाण्डेले यसपटकको बजेटले वृद्धभत्ता बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वृद्धभत्ता समाजवादको कडी हो, सरकार समाजवादतर्फ जाँदैछ, त्यसैले पनि वृद्धभत्ता बढाउनुपर्छ, बढ्छ ।’ उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समाजवाद ल्याउन शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, जग्गा सबैलाई सरकारीकरण गरिनुपर्छ, तर तत्काल त्यो सम्भव छैन, तर पनि सरकार त्यतातर्फ उन्मुख भइरहेको छ ।’
बालकलाई निःशुल्क पढाइ, वृद्धवृद्धालाई भत्ता, बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेर सरकार समाजवादतर्फ उन्मुख भइरहेको नेता पाण्डेले बताउनुभयो । ‘काठमाडौँमा मेट्रो, पर्वपश्चिम रेल चल्छ’ नेता पाण्डेले भन्नुभयो, ‘हाम्रै युगमा समृद्ध र सुखी नेपाली देख्न पाइन्छ ।’
कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले मजदुरका हरेक समस्या समाधान गर्न नेकपा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोका दिनमा अधिकार, रोजगारका लागि हामी लड्यौँ, अब नलडी अधिकार दिलाउने दुई तिहाइको नेकपाको सरकार बनेको छ, मजदुरका लागि धेरै योजनाहरु सरकारले ल्याइरहेको छ ।’
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारी, नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव सालिकराम काफ्लेलगायतले मन्तव्य दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस