अर्थतन्त्र डामाडोल : वैदेशिक व्यापारको तथ्यांक लुकाउँदै अर्थमन्त्री खतिवडा र उनका ज्वाइँ

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १४ : ११
अर्थतन्त्र डामाडोल : वैदेशिक व्यापारको तथ्यांक लुकाउँदै अर्थमन्त्री खतिवडा र उनका ज्वाइँ

काठमाडौं । भन्सार विभागले प्रत्येक महिना प्रकाशित गर्ने वैदेशिक व्यापारको तथ्यांक पछिल्ला केही महिना यता रोकिएको छ । त्यसको पछाडि अर्थमन्त्री डा. युवराज खतिवडा र उनका ज्वाईं रामशरण खरेलको प्रमुख हात रहेको पाइएको छ । अर्थतन्त्रको डामाडोल अवस्थाको जानकारी सार्वजनिक हुन्छ भन्दै अर्थमन्त्रीले कुनै पनि सार्वजनिक जानकारी दिएका छैनन् । 
अर्थ मन्त्रालयको निर्देशनमा तथ्यांक सार्वजनिक गर्ने काम हाललाई रोकिएको छ । लाजको पसारो रोक्नका लागि अर्थमन्त्री डा. खतिवडा र उनका ज्वाई खरेलले विभागसम्बद्ध कुनै पनि जानकारी सार्वजनिक नगर्न र गरेको खण्डमा कडा कारवाही गर्ने जिम्मेवारी आफूसँग रहेको भन्दै उनीहरुले भन्सारका पदाधिकारीलाई समेत थर्काएको बताइन्छ । 
‘भन्सार विभाग, राष्ट्र बैंकलगायतका निकायले एउटै तथ्यांक फरकफरक समयमा सार्वजनिक गर्दा त्यसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण भएकाले राष्ट्र बैंकबाट मात्रै सार्वजनिक गर्ने अर्थ मन्त्रालयको योजना अनुसार हामीले बेवसाइटमा राखेका छैनौँ,’ विभागका एक उच्च अधिकारीले भनेका छन् । अर्थले विभागले तयार गरेको तथ्यांक आफ्नो पूर्वस्वीकृतिपछि मात्रै प्रकाशित गर्न विभागलाई अनावश्यक निर्देशन समेत दिइएको छ । विभागले मासिकरुपमा व्यापारको तथ्यांक तयार गर्दै मन्त्रालय पठाएको दुई महिना बितिसकेको छ । अहिलेसम्म मन्त्रालयले तथ्यांक सार्वजनिक गर्न स्वीकृति नदिएको विभागको गुनासो छ । 

विभागले आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्ने यो तथ्यांक पुस यता प्रकाशित भएको छैन । जसका कारण कुन देशबाट के कति मात्रामा आयात भयो ? कुन सामान विदेश निर्यात भयो ? भन्ने बारेमा कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन । विभागले पछिल्लो पाँच वर्षको मासिक र त्यसअघिका पाँच वर्षको वार्षिक तथ्यांक सार्वजनिक गरेको छ । तर चालु आर्थिक वर्षको भने पहिलो ६ महिनापछिको तथ्यांक सार्वजनिक गरिएको छैन । 

‘माघ र फागुनको तथ्यांक हामीले यसअघि नै स्वीकृतिका लागि मन्त्रालय पठाएका छौँ, त्यसलाई प्रकाशन गर्न स्वीकृति प्राप्त भएको छैन,’ विभागका एक अधिकारीले भने, ’चैतको तथ्यांक अबको एक दुई दिनमा नै पठाउछौँ, मन्त्रालयबाट स्वीकृति पाए यो पनि सार्वजनिक गर्न हामीलाई धेरै समय लाग्दैन, तर अर्थमन्त्रीका सल्लाहकारले नै कुनै पनि तथ्यांक सार्वजनिक नगर्न चेतावनी दिएका छन् । विधिबाट चल्ने निकायलाई असंवैधानिक व्यक्तिले थर्काएको विषय समेत मिल्दो रहेको छैन त । 

विभागले अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेलाई तथ्यांक पठाउने गरेको छ । तर घिमिरेले अहिलेसम्म कुनै पनि तथ्यांक वेबसाइटमा राख्न स्वीकृति दिएका छैनन् । तथ्यांक सार्वजनिक गर्न अर्थमन्त्री सकारात्मक नभएको भन्सारका कर्मचारीको बुझाई रहेको छ । विकास खर्च नभई फ्रिज हुने अवस्थामा पुगेको छ । 
भन्सार विभागका महानिर्देश रामेश्वर दंगालले भने भन्सार विभागले राजस्वको विवरण सार्वजनिक गर्ने र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले व्यापारको तथ्यांक सार्वजनिक गर्ने सहमित अनुसार तथ्यांक सार्वजनिक नगरिएको बताएका छन् । ‘केन्द्रले पनि हाम्रै तथ्यांकका आधारमा काम गर्ने हो, त्यसै भएर हामीले व्यापारको तथ्यांक सार्वजनिक नगरेका हौं ।’ 
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रस्तुत गरेको तथ्यांकको विश्वसनियतामाथि प्रश्न उठेपछि अर्थ मन्त्रालयले तथ्यांक सार्वजनिक गर्ने निकायका गतिविधिमाथि कडाई गर्न थालेको हो । अर्थमन्त्रीका ज्वाइँ डा. खरेलले त भन्सारका पदाधिकारीलाई नै विभागीय कारबाही गर्ने भन्दै ज्यादती समेत गरेका छन् । अर्थमन्त्री को हुन् ? डा. खरेल हुन् कि डा. खतिवडा हुन् ? भनी छुट्याउन नसकेर सेवाग्राही समेत हैरान भएका छन् । डा. खरेलमाथि मन्त्रीको सल्लाहकारको नाममा उठ्ती धन्दा समेत चलाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस