फुटबललाई चौधरी ग्रुपको साथ

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, २० : ५३
फुटबललाई चौधरी ग्रुपको साथ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने अन्तर स्कुल फुटबल प्रतियोगितालाई चौधरी ग्रुपले मुख्य प्रयोजन गर्ने भएको छ ।

जेठ दोस्रो वा तेस्रो सातादेखि देशभर सञ्चालन हुने प्रतियोगिताका लागि चौधरी ग्रुपको उत्पादन क्वीस र रियो जुसले मुख्य प्रायोजन गर्न लागेको हो । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा मंगलबार चौधरी ग्रुपका उपाध्यक्ष जीपी शाह र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्ताक्षर गरे । 

चौधरी ग्रुपमा प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा गरिएको पाँच वर्षे सम्झौता अनुसार एन्फाले यस बर्ष ५५ लाख रुपैयाँ पाउनेछ । 

उक्त रकममा हरेक बर्ष पाँच लाख रुपैयाँ थप्दै जाने सम्झौतामा उल्लेख छ । प्रतियोगिता ‘क्वीस कप अन्तर स्कुल राष्ट्रिय फुटबल’ पावर वाई रियोको नाममा सञ्चालन हुनेछ । 

एन्फाले विभिन्न ५२ जिल्लाका विद्यालयमा जिल्ला स्तरीय र क्षेत्रीय हुँदै अन्तिममा छनोट भएर आएका १६ टोलीबीच राष्ट्रिय प्रतियोगिता गर्नेछ । प्रतियोगितामा १५ सयदेखि दुई हजार स्कुलको प्रतक्ष सहभागिता रहने एन्फाले जनाएको छ ।

कूल एक करोड ५० लाख रुपैयाँ लगानी अनुमान गरिएको प्रतियोगिताका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको ३० लाख र बाँकी रकम विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत ग्रासरुट फुटबल परियोजनाबाट खर्च गरिने एन्फाले जनाएको छ । 

प्रतियोगितालाई युवा फुटबल खेलको विकासका रुपमा लिईएको छ । विश्वकै चर्चित खेल फुटबलसँग जोडिन पाउनु कम्पनीका लागि खुशीको कुरा भएको सम्झौता कार्यक्रममा प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए । 

‘युवा फुटबलको गरिएको लगानीले भविष्यमा राम्रा खेलाडी उत्पादन हुनेनछन् भन्न हाम्रो चाहना हो । कम्पनीले अन्य खेलमा पनि लगानी गर्दै जानेछ,’ चौधरीले भने ।

एन्फा अध्यक्ष शेर्पाले फुटबलमा ठूलो ब्यपारिक घरानको उपस्थितिले थप उर्चा मिलेको बताए । यसअघि उक्त प्रतियोगिता कोकोकोला कप अन्तरविद्याल फुटबल प्रतियोगिताको नाममा सञ्चालन हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस