चितवन प्रदर्शनी केन्द्रलाई अर्याल परिवारबाट सहयोग

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, १५ : ३५
चितवन प्रदर्शनी केन्द्रलाई अर्याल परिवारबाट सहयोग

चितवन । स्व. पिता डिलाराम अर्यालको सम्झनामा माता लक्ष्मी अर्याल तथा छोराहरुको तर्फबाट चितवन प्रदर्शनी केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व।डिलाराम अर्यालका छोराहरु बाबुराम अर्याल, महाशर्मा अर्याल, गोकर्ण अर्याल, कृष्णप्रसाद अर्याल, प्रकाश अर्याल र सुरज अर्यालको संयुक्त सहभागितामा चितवन प्रदर्शनी केन्द्रलाई ५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । 

रकम हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले अर्याल परिवार संघले गरेका कामप्रति विश्वास लागेर गर्नुभएको सहयोग र सद्भावको प्रशंसा समेत गर्नुभयो । उहाँहरुले गर्नुभएको सहकार्यलाई कहिल्यै बिर्सन नसकिने र आगामि दिनहरुमा अझै सहकार्य गर्दै अगाडि बढ्ने समेत बताउनुभयो । 

आफ्नो सिङ्गो परिवारका सदस्यबाट चितवन प्रदर्शनी केन्द्रलाई रकम हस्तान्तरण गर्ने सोच र संघसँगको सहकार्यका बारेमा चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण प्रसाद अर्यालले प्रकाश पार्नुभएको थियो । 

त्यस्तै रकम हस्तान्तरणसँगै स्व. डिलाराज अर्यालका कान्छा सुपुत्र सुरज अर्यालले देशकै नमूनाको रुपमा सञ्चालन भईरहेको उक्त प्रदर्शनी केन्द्रलाई आँफू र आफ्नो परिवारको तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई हर्षित बनाएको समेत बताउनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, कार्यसमिति सदस्यहरु दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, गजेन्द्र अधिकारी, जितबहादुर हमाल, युगराज वस्ती, गोपालप्रसाद गैरे, डा।प्रमोद लामिछाने, प्रकाशचन्द्र भट्टराई, ईश्वरीप्रसाद रिजाललगायतको उपस्थिति रहेको थियो । रकम हस्तान्तरण कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस