मधेस तराई फोरम नेकपामा मिसियो, यसरी भयो अमर यादवको युटर्न

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, १५ : १६
मधेस तराई फोरम नेकपामा मिसियो, यसरी भयो अमर यादवको युटर्न

चितवन । तराई फोरम पार्टी नेकपामा मिसिएको छ । आज पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पुगेर तराई फोरम पार्टीका नेताहरु नेकपा प्रवेश गरेका हुन् ।  
मधेस तराई फोरम पार्टीका अध्यक्ष अमर यादवले प्रचण्डको हातबाट टीका लगाएर नेकपा प्रवेश गर्नुभएको हो । यादव आफूले भने नेकपा प्रवेश गरेको नभई पार्टी समायोजन भएको बताउनुभयो। ‘पार्टी एकीकरणको कुरा धेरै पहिलादेखि चलेको थियो, आज टुंगिएको छ,’ प्रचण्डको हातबाट टीका लगाएपछि उहाँले भन्नुभयो । अमर यादवको पार्टी प्रवेश अनौठो भने नभएको नेकपाका नेताहरुको भनाइ छ । 

अमर यादवले भने अबको मुद्दा विकास भएकाले नेकपासँग एकता गरेको बताउनुभयो । ‘कतिपय विषयमा संविधान संशोधन भइसक्यो, कतिपय प्रक्रियामा छन् । आजै पनि प्रचण्डले संशोधनबारे भन्नु भएको छ,’ यादवले भन्नुभयो । 
यादवकाअनुसार प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समेत केपी शर्मा ओलीसँग कुराकानी गरेर केन्द्रदेखि तल्लो कमिटीसम्म समायोजन गर्ने र नेताहरुलाई उचित जिम्मेवारी दिने वचन दिएका छन् ।
कांग्रेसका केही नेता पनि प्रवेश 
रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता पनि पार्टी एकीकरणमा पुगेका थिए । नेकपा अध्यक्ष प्रचण्डको निवासमा पुग्दा पार्टी प्रवेश कार्यक्रम चलिरहेको थियो ।
अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा विलय हुने कार्यक्रममा मेहताले पनि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको चर्चा चल्यो । मेहताकै नगरपालिकाका कांग्रेसका अन्य नेता कार्यकर्ता प्रचण्डको हातबाट टीका लगाएर नेकपा प्रवेश गरे । तर उहाँले भने टीका लगाउनुभएन । उहाँका निकट सहयोगी मोहनप्रसाद मेहतासहित ५० जना स्थानीय नेता नेकपा प्रवेश गरेका थिए । तर मेयर मेहताले आफू पार्टी प्रवेश भने नगरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस