यसरी मिल्यो अण्डा उत्पादक किसान र संघको विवाद

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, १७ : ०८
यसरी मिल्यो अण्डा उत्पादक किसान र संघको विवाद

चितवन । चितवनमा अण्डा उत्पादक किसान र अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयबीचको विवाद तत्काललाई सल्टिएको छ । आज जिल्ला प्रशासन कार्यालय भरतपुरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलकदमीमा बसेको वार्ताले विवाद समाधान गरेको हो । 
अण्डाको मूल्यवृद्धिलगायतका १० बुँदे माग राखेर अण्डा उत्पादक किसानहरु लगातार आन्दोलनमा होमिएका हुन् । अण्डा उत्पादक किसानहरुले अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै कार्यालयमा ताला लगाएका थिए । 
प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहले संघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको बताउनुभयो । कृषक समूहका अध्यक्ष राजकुमार श्रेष्ठले अण्डाको मूल्यवृद्धिको लागि सात सदस्यीय कार्यदल बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यदलले बजारको वस्तुगत अवस्थाको अध्ययन गरी अण्डाको मूल्य विस्तारै बढाउँदै लैजान्छ ।’ 
वार्तामा प्रमुख जिल्ला अधिकारी बस्नेतले लागत मूल्य नघट्ने गरी अण्डाको मूल्य कायम हुुनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यदलमा किसान, संघ, सप्लायर्स, चिकित्सक प्रतिनिधि रहनुभएको छ । 
‘कार्यदलले एक हव्तासम्म बजारको अध्ययन गर्छ, अनि अण्डाको बजारको अवस्थासहितको प्रतिवेदन संघमा बुझाउँछ, त्यसको आधारमा संघले मूल्य कायम गर्छ’ अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । 
अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयले नै सप्लायर्सहरुसँग मिलेर अण्डाको मूल्य घटाएको आरोप किसानहरुले लगाउनुभएको थियो ।  कृषक समूहका अध्यक्ष राजकुमार श्रेष्ठले आन्दोलन स्थगित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलनको स्वरुप परिवर्तन भएको हो, यो स्थगित होइन, अण्डाको मूल्य नबढे आन्दोलन जारी रहन्छ ।’
पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहले यसअघि संघको केन्द्रीय कार्यालय कमलनगर नारायणगढमा केहीदिन अघि ताला लगाएका थिए । यसअघिको विरोध प्रदर्शनमा कृषक समूहले संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल बस्ने कुर्चीसमेत तोडफोड गरेको थियो । 
यसअघि फागुनमा पनि किसान र अण्डा उत्पादक संघ र सप्लायर्सबीच भएको वार्ताले घटेको अण्डाको मूल्य वृद्धि भएको थियो । त्यतिबेला ठूलो अण्डा क्रेटको २३० बाट बढेर २९० पुगेको थियो । अहिले अण्डाको मूल्य घटेर क्रेटको २०० रुपैयाँ कायम भएको छ । 
अण्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष त्रिलोचन कँडेलले अण्डाको माग नभएकाले मूल्य घटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अण्डाका मूल्य घट्दा हामीलाई पनि घाटा छ, मूल्य बढोस् भन्ने हाम्रो पनि चाहना हो, तर बजारमा माग छैन के गर्ने ? घटाएर बेच्न बाध्य भएका हौँ, यो रहर होइन ? बाध्यता हो ।’
 
 

प्रतिक्रिया दिनुहोस