हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

शनिबार, ०६ माघ २०७४, १५ : ०८
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

जुम्ला ।  माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् ।

लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको तिला गाउँपालिका–४ जुम्लाकी स्थानीय महिला रत्नसरा कामीले बताइन् ।

“यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो,” चिन्ता व्यक्त गर्दै कामीले भनिन् । खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।

तिला–३ जुम्ला जोगीवाडा गाउँका स्थानीय किसान नरबहादुर रावतले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गरे ।
जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ ।

यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताए । मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताए । “माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,” सूचना अधिकारी देवकोटाले भने ।

उाका अनुसार यहाँको तीन हजार ८०० हेक्टर क्षेत्रफलमा जौँ, दुई हजार १०० हेक्टरमा गहुँ र तीन हजार ३०० हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौँ र गहुँबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  (रासस)

 

प्रतिक्रिया दिनुहोस