यस्तो छ फुटबलर सावित्रा भण्डारीको फिटनेस सूत्र

बुधबार, ११ बैशाख २०७६, १७ : ४४
यस्तो छ फुटबलर सावित्रा भण्डारीको फिटनेस सूत्र

काठमाडौं । सावित्रा भण्डारी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर हुन् । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबमा समेत आबद्ध उनी पछिल्लो समयमा ‘गोलमेसिन’का नामले परिचित छिन् । नेपाली फुटबल क्षेत्रमा सावित्रालाई ‘साम्बा’ (ब्राजिलियन खेल शैली) उपनामले चिनिन्छ । साम्बा खेल शैलीसँगै उनी ‘लुक्स’ले पनि लोकप्रिय छिन् ।  उनको ‘अन्डर कट’ हेयरस्टाइल चर्चित छ ।

सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको करिब पाँच वर्ष मात्रै भयो । यद्यपि, उनको नाम देशका लागि सर्वाधिक गोल गर्ने नेपाली महिला खेलाडीको सूचीमा दोस्रोमा छ । भर्खर २१औँ वसन्त टेकेकी उनले हालसम्म नेपालका लागि २८ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् । हाल आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यस्त रहेकी सावित्रालाई नयाँ पत्रिकाले उनको फिटनेस सूत्रबारे जिज्ञासा राख्यो । उनले भनिन् :

लुक्स
फुटबलका विभिन्न अभ्याससँगै म मेरो लुक्समा समेत ध्यान दिन्छु । यसले मेरो आत्मविश्वास बढाएको छ । सबभन्दा बढी म ‘हेयरस्टाइल’मा ध्यान दिन्छु । मैलै ‘अन्डर कट’ स्टाइल राखेकी छु । त्यसैले, झट्ट हेर्दा मेरो हेयरस्टाइल केटाको जस्तै देखिने गरेको छ । जे होस्, मेरो कपालको स्याहारमा ध्यान दिने गर्छु । त्यसमा मलाई मनपर्ने रङ लगाउँछुु । समय–समयमा कलर परिवर्तन गर्ने गर्छु । खेल दौरान वेलावेलामा कपाल तल झर्ने भएकाले जेल लगाउने गर्छु । 

जिम
खेलाडी शारीरिक रूपमा फिट रहन जिम गर्न अत्यावश्यक छ । त्यसैले, म आफ्नै क्लबको जिम सेन्टरमा जिम गर्छु । प्रायः खाली समयको सदुपयोग गर्दै जिम जान्छु । हप्ताको दुई वा तीन दिन जति पर्छ । यसका लागि बेलुकाको समय मेरो रोजाइमा पर्छ । एकदेखि डेढ घन्टा जिममा समय बिताउँछु । यद्यपि, एपिएफ र राष्ट्रिय टोलीबाट खेल्ने क्रममा छुट्टा–छुट्टै तालिका बनाइएको हुन्छ । जस्तै, तीन महिनामा करिब एक महिना शारीरिक व्यायामको लागि समय छुट्याइएको हुन्छ ।

नियमित व्यायाम
प्रायः दिउँसो फुटबलको नियमित ट्रेनिङ हुने गर्छ । त्यस्तै, बेलुकाको खाली समयमा ‘वर्कआउट’ गर्ने गर्छु । यसमा दौड र स्टे«चिङ मुख्य हुन् । नियमित खेलमा व्यस्त भइरहने भएकाले अन्य व्यायामका लागि समय पुगिरहेको हुँदैन । यद्यपि, सकेसम्म अन्य विभिन्न व्यायाम गर्ने गर्छु । यसले मेरो शरीरिक सुगठनमा सघाउ पु-याएको छ । 

सन्तुलित भोजन
उत्कृष्ट खेलाडी हुनका लागि प्रशिक्षणले मात्र हुँदैन । यसका अलवा सन्तुलित भोजन लिन पनि उत्तिकै आवश्यक छ । अन्य समयमा भन्दा खेलदौरान पौष्टिक आहारको बढी नै आवश्यकता हुन्छ । त्यसैले, प्रतियोगिताको समयमा बिहान चना, अन्डा, दूध र ब्रेड खान्छु । त्यस्तै, खानामा फलफूल अनिवार्य समावेश गर्छु । यसबाहेक अभ्यासका दौरान जुस पिउने गर्छु । खानेकुरा यही हुनुपर्छ भन्ने छैन, तर त्यसमा पौष्टिक तत्व  अनिवार्य समावेश हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

प्रशस्त पानी
खेलाडीले प्रशस्त पानी पिउन अत्यावश्यक छ । शारीरिक परिश्रम बढी हुने र पसिना आउने भएकाले सामान्यभन्दा खेलदौरान हाम्रो शरीरमा पानीको आवश्यकता बढी हुन्छ । शरीरमा पानीको कमी भएमा मांशपेसीमा असर पुग्ने भएकाले प्रशस्त पानी पिउनुपर्छ । त्यसैले, म प्रतियोगिता दौरान दैनिक तीनदेखि चार लिटर र अन्य समयमा दुई लिटर पानी अनिवार्य पिउँछु । 

फास्टफुड बन्देज
म स्वास्थ्यबारे एकदमै सजग छु । स्वादका हिसाबले पनि मलाई फास्टफुड खान मन पर्दैन  । अत्यधिक फास्टफुड सेवनले स्वास्थ्य पनि बिग्रने भएकाले यस्ता खानेकुराबाट टाढा रहने गरेकी छु । खासगरी, पानीपुरी, चटपटे र चिप्सजस्ता खानेकुरा खाँदै खान्नँ । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस