बसमा सकस बाइक 'पठाओ'

शनिबार, ०७ बैशाख २०७६, २० : १८
बसमा सकस बाइक 'पठाओ'

काठमाडौँ । काठमाडौँको सार्वजनिक यातायात अस्तव्यस्त छ। साधन हुनेहरू आफ्नै साधन लिएर हिँडे पनि नहुनेहरू कष्टसाथ यात्रा गर्छन्। बस, माइक्रो, ट्याम्पो जताततै यात्रुको चापाचाप हुन्छ। बिहान र बेलुका अफिस टाइममा सार्वजजिक सवारीमा खुट्टा टेक्ने ठाउँ भेट्न पनि हम्मेहम्मे पर्छ। ट्याक्सीमा यात्रा गर्ने यात्रु ठगिइने गरेको गुनासो गर्छन्। 

यस्तै यस्तै समस्याका बीच उपत्यकामा ‘राइड सेयरिङ कल्चर’ बढ्दो छ। राइड सेयरिङ सेवा दिन केही कम्पनीसमेत सुरु भइसकेका छन्। ‘पठाओ’ र ‘टुटल’ यसका उदाहरण हुन्।

के हो ‘पठाओ’ ?
पठाओ राइड सेयरिङ सेवा हो। यसले धेरैलाई पेड लिफ्ट (सशुल्क लिफ्ट) दिन्छ। पठाओको एपमार्फत यात्रा गर्न चाहने व्यक्ति कहाँ छ ? कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ। यो एपमार्फत बाइकवाला बोलाएको ठाउँमा केही समयमै लिन आइपुग्छ। पठाओ एपमार्फत यात्रा गर्ने व्यक्ति र सशुल्क सेवा दिने व्यक्ति (राइडर) को जानकारी साटासाट हुन्छ। ‘गुगल म्याप’बाट एकअर्काको ‘लोकेसन’ थाहा हुन्छ। 

बंगलादेशका तीन जना व्यवसायी हुसेन एम एलियस, फहिम सलेह र अदनान सिफातले सन् २०१५ मा ‘पठाओ राइड्स’ स्थापना गरेका हुन्। बढ्दो ट्राफिक जाम र यात्रुको चापलाई मध्यनजर गर्दै यो सेवा विस्तार भएको हो। सन् २०१६ को डिसेम्बरमा बंगलादेशमा पठाओ मोबाइल एप बनेको थियो।

राइड सेयरिङ सेवासँगै बंगलादेशमा पठाओ एपमार्फत सामान र खानाको समेत डेलिभरी सेवा उपलब्ध छ। यही बंगलादेशी ब्रान्ड र टेक्नोलोजी नेपालमा  असीममानसिंह बस्न्यातले गएको अक्टोबरमा भिœयाएका हुन्। ‘उच्च शिक्षापछि झन्डै सात वर्ष चीनमा बिताएँ,’ बस्न्यातले भने, ‘विभिन्न क्षेत्रमा जागिर गरेर १५ वर्ष बिताएँ।

अध्ययनको क्रममा बंगलादेशी ब्रान्ड पठाओ नेपाल आउन खोजेका थाहा पाएँ। त्यो अवसर मैले गुमाउन चाहिनँ।’ पठाओको राइड सेयरिङ सेवा पठाओले गर्न लागेको कामको एउटा सानो अंश मात्र भएको उनले बताए। ‘अन्य सेवाका लागि पूर्वाधार निर्माण हुँदै छ,’ पठाओका क्षेत्रीय निर्देशक बस्न्यातले भने, ‘पठाओमार्फत आगामी दिनमा ट्याक्सी सेवा, खाना तथा सामानहरूको डेलिभरी गर्ने तयारी गरिरहेका छौँ।’

के हो ‘टुटल’ ?
पठाओजस्तै मोटरसाइकलमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन सेवा दिने एप टुटल हो। ‘टुगेदर वी मुभ’ उद्देश्यसहित सञ्चालनमा आएको टुटल नेपाली ब्रान्ड हो। टुटल एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, मोटरसाइकल विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ।

सुविधा लिने यात्रुले एपमार्फत फारम भर्नुपर्छ। एपको प्रयोगकर्ताले उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्छन्। एपबाट नजिकको टुटल प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ। बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउन सकिन्छ। यो सुविधा लिएबापत यात्रुले कम्तीमा तीन किलोमिटरसम्मको ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटरमा १८ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। टुटलका सेवाग्राहीले ई–सेवा र क्यास दुवै तरिकाले भाडा तिर्न सक्छन्। 

प्रतिक्रिया दिनुहोस