यातायात कम्पनी खोल्ने सरकारी तयारी अलपत्र

शनिबार, ०६ माघ २०७४, १० : ०४
यातायात कम्पनी खोल्ने सरकारी तयारी अलपत्र

काठमाडौं । काठमाडौं उपत्यकाका यात्रुलाई सस्तो, सुलभस्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खोल्ने तयारी अलपत्र बनेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवं काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गत वर्ष माघमा उपत्यकाका २२ नगरपालिकाले शेयर राखी कम्पनी स्थापना गर्न लागेका थिए । यसअघि महानगरपालिकाका कार्यकारी अधिकृत रहेका मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ कम्पनी खोल्ने तयारी गर्दा गर्दै मुलुक नयाँ संरचनामा गई स्थानीय तहको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधि आएकाले काम रोकिएको बताउँछन् ।

उनले भने, “महानगरपालिका र नगरपालिकामा निर्वाचित प्रमुखले चाहनुभयो भने तयार भएका सबै कागजपत्र दिन्छौँ, त्यसबेला पुगेकै स्थानबाट प्रक्रिया अघि बढ्न सक्छ, नयाँ संरचनाअनुसार मन्त्रालयले नै कम्पनी खोल्न नसक्ने भयो ।”

स्थानीय सरकारले नगर बस चलाउने विश्वव्यापी अभ्यास रहेकाले नेपालमा सहज र सुलभ सार्वजनिक यातायातका लागि कम्पनी आवश्यकता रहेको मन्त्रालयले जनाएको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावली तयार पारी नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृतलाई एक वर्षअघि नै हस्ताक्षर गराइएको थियो ।
कम्पनी दर्ता गरी तीन महिनाभित्र यातायात सञ्चालन गर्ने गरी काम अघि बढेको बताइएको थियो ।

राजधानीमै यात्रुले सकसपूर्ण रुपमा सार्वजनिक यातायातमा यात्रा गर्न बाध्य भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विसं २०७३ साउनमा स्थानीय निकायलाई परिचालन गरी कम्पनी स्थापना गर्न निर्देशन दिएको थियो ।रासस

 

प्रतिक्रिया दिनुहोस