समानुपातिक सांसदलाई माओवादी केन्द्रको बधाई

शुक्रबार, ०५ माघ २०७४, २० : २८
समानुपातिक सांसदलाई माओवादी केन्द्रको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ ।
शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा महिला, दलित लगायतका वर्ग र समुदायको उपस्थितिले जनयुद्धको कमाण्ड गरेका महिलाहरुको झल्को दिएको बताउनु भयो ।
बधाई ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो युद्धको बेला थुप्रै महिला कमाण्डरहरु जन्मिए । आज प्रदेश सभाका समानुपातिक सांसदहरुमा तपाईहरु अधिकांश महिलाहरु आउनु भएको छ । यो दृश्य हेर्दा मलाई जनयुद्धका महिला कमाण्डरहरुकै स्मरण भएको छ । माओवादी र जनयुद्धकै कारण संसदमा महिला, दलित, जनजाति, मधेशी, अपाङ्गहरु पुगेका छन्, यो हेर्दा मलाई गौरवको महशुस हुन्छ । चाहे तिनीहरु एमालेको कोटाबाट पुगुन्, चाहे कांग्रेस वा अरु दलको कोटाबाट, तिनीहरु माओवादी नै हुन् जस्तो लाग्छ, जनयुद्धले जन्माएका सांसद हुन जस्तो लाग्छ ।’
‘तपाईहरु संघर्षको नयाँ मोर्चामा आउनु भएको छ, यो मोर्चा पनि निकै पेचिलो छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो मोर्चामा तपाईहरुले जनताप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ । एमाले र माओवादीबीच पार्टी एकता हुँदैछ, एकताको भावसहित तपाईहरुले जनताको काम गर्नुहुनेछ, यसमा तपाईहरुलाई सफलता मिल्नेछ, म शुभकामना दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस