‘हाउ मचले दिक्कै बनायो’

पत्रपत्रिकाबाट

मंगलबार, ०३ बैशाख २०७६, २१ : ०१
‘हाउ मचले दिक्कै बनायो’

तस्बिर : सम्पूर्ण

काठमाडौँ । नौ वर्षयता ड्राइभिङ गरिरहेको छु । पाँच कक्षासम्म पढेको छु । त्यति बेला संकटकाल लागेको थियो, पढ्न पाइएन । यो मेरो आफ्नै ट्याक्सी हो । १० लाख रुपैयाँमा किनेको हुँ । ट्याक्सी किनेको नौ वर्ष भयो । पहिला आफूले चलाइनँ । अरूको गाडी चलाउँथेँ । मेरो भाइले ट्याक्सी चलाउँथ्यो । 

ट्याक्सीको कमाइले किस्ता तिर्न र ड्राइभरलाई दिन नपुग्ने अवस्था भयो । त्यसपछि अब भएन भन्ने लाग्यो । आफूले चलाइयो भने कम्तीमा ड्राइभर खर्च त बच्छ भनेर आफैँ ट्याक्सी चलाउन थालेँ । नौ वर्षअघि ऋण गरेर ट्याक्सी किनेको अझ पनि ऋण तिर्न बाँकी छ । अलि–अलि गरेर तिरिरहेको छु । 

ट्याक्सी चलाएर खान गाह्रो पो छ त ! खासै कमाइ हुन्न, दिनमा हजार, दुई हजारसम्म हुन्छ । कहिले त त्यति पनि हुँदैन । सुक्खा घर फर्किनुपर्छ ।

हामीलाई ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्दैनन् । ‘ओई ड्राइभर’ भनेर हेपेर बोल्ने गर्छन् । नौ वर्षको अनुभवमा राम्रो व्यवहार गर्ने ट्राफिक प्रहरी कमै भेटेको छु । ट्राफिक प्रहरीको ‘हाउ मच’ अभियानले पनि त्यस्तै दिक्क बनाएको छ । विभिन्न हुलियामा ट्राफिक प्रहरी आउँछन् । चिन्नै गाह्रो । कोही त बिरामी बनेर आउने गर्छन् । जान्नँ भन्दाभन्दै पनि हाउ मचमा पारिदिन्छन् । मिटरमा जाऊँ भन्दा होइन, कति लिने भनेर सोध्छन् त हामीले के भन्ने ?
एकचोटि त झन्, रिजर्भ लिन भनेर भक्तपुर हिँडेको दुई जना केटाकेटी बदाम खाँदै बसेका थिए । ट्याक्सी ‘खाली हो’ भनेर सोधे ।

मैले ‘हो’ भनेँ । ‘कलंकी जाऊँ’ भने । मैले ‘भ्याउँदिनँ, मेरो त भक्तपुरको बाटो पर्ने हो’ भनेँ । यत्तिकैमा ‘ट्याक्सी साइड लगाउनुस्, हामी ट्राफिक प्रहरी हौँ’ भन्न थाले । र, पाँच सयको चिट काटे । 
आफ्नो गाउँ–ठाउँ छोडेर केही होला कि भनेर काठमाडौँ आयो, महँगो भाडा तिरेर बस्यो, तैपनि गरिखान गाह्रो छ । हाम्रो पेशा नै धराशायी हुने अवस्था आइसक्यो । सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस