खेलकुदमा २०७५ : पूर्वाधार निर्माणमा निराशाजनक

सोमबार, ०२ बैशाख २०७६, १६ : ३८
खेलकुदमा २०७५ : पूर्वाधार निर्माणमा निराशाजनक

– कुमार चौलागाईं/मुना कार्की
काठमाडौँ । नेपाली खेलकूद क्षेत्रमा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भयो । बीस वर्षपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा नयाँ नेतृत्व, चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष सम्पन्न हुँदा २०७५ साल फुटबल वर्षको रुपमा चर्चा कमाउन सफल भएको हो । 

बीस वर्षसम्म गणेश थापाको एकल नेतृत्वबाट चलेको एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्व पाएसँगै चार वर्षदेखि रोकिएको तीन चरण शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ लिग फुटबल सोहि वर्ष सम्पन्न भएको थियो । त्यसो त रेलिगेशनको प्रावधान नहुँदा पनि लिगको रौनक पहिलेको जस्तो हुन सकेन । नेपाली फुटबल खेल गएको वर्ष एक ठूलो परिवर्तनको साक्षी बन्यो । परिवर्तन र पारदर्शीताको नारासहित शेर्पाले आफूलाई नेतृत्वमा स्थापित गर्न सफल भए ।

गएको वर्ष फुटबलमा केही सकारात्मक कामको थालनी समेत भएका छन् । अखिल नेपाल फुटबल सङ्घले आर्थिक नियमावली र कार्यविधि लागू गरेको छ । कार्यविधि लागू भएसँगै एन्फामाथि लाग्दै आएको आर्थिक अनियमितता र विसङ्गति कम हुने बताउहुनुहन्छ, एन्फा प्रवक्ता किरण राई ।

त्यसैगरी यस वर्षदेखि एन्फाका सदस्य जिल्लामा सञ्चालन गरिएको ग्रासरुट कार्यक्रमदेखि फुटबलमा स्थानीय सरकारलाई सहभागी गराउने एन्फाको महत्वपूर्ण रणनीतिको दुरगामी फाइदा नेपाली  फुटबलले पाउने देखिन्छ ।

त्यसैगरी विसं २०७५ मा व्यक्तिगततर्फ दुई नेपाली फुटबलरले यस वर्ष दुईवटा अवार्ड समेत जित्न सफल भए । रोहित चन्द नेपालमा भन्दा इण्डोनेसियामा बढी चर्चामा छ । इण्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लबले लिगको उपाधि मात्र जितेर रोहित उत्कृष्ट खेलाडी बन्न सफल भए ।

यसैगरी नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि तथा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्न सफल रहे । उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झन चुलिएको छ । 

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सोचेअनुसारको सफलता प्राप्त गर्न सकेन । बङ्गलादेशमा सम्पन्न साफ फुटबल तथा बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाएको नेपालले साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा बङ्गबन्धु कपमा भने समूह चरणबाटै घर फर्कियो । 
यसवर्ष केही खेल तथा खेलाडीले ऐतिहासिक सफलता प्राप्त गर्दा खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुनसकेन । एन्फामा चुनावको समय फरक कित्तामा उभिएका चार जिल्ला फुटबल सङ्घले एन्फाभित्र चरम आर्थिक अनियमितता भएको र निर्वाचनमा ठूलो रकमको चलखेल भएको आरोप लगाएपछि युवा तथा खेलकूद मन्त्रालयले एन्फा भ्रष्टाचारको विषयमा छानबिन गर्न समिति नै गठन गर्यो र अहिले सो घटना छानबिनकै चरणमा रहेको छ ।

महिला फुटबलको चर्चा
यसवर्ष पुरुष फुटबलसँगै महिला फुटबलका गतिविधि सञ्चालन भए । महिला फुटबलको अन्तर्राष्ट्रिय सहभागिता बढ्न पुग्यो । उमेर समूहमा महिला फुटबलले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । सिनियर टिमले समेत राम्रो तयारी गरेर ओलम्पिक छनोट हुँदै साफ च्याम्पियनसिपमा गर्विलो प्रदर्शन गर्न सफल भयो । साफ च्याम्पियनसीपको उपाधि घरमै जित्ने सपना भने यो वर्ष पनि भारतले पूरा हुन दिएन । 

यसैगरी सात्रिता भण्डारी, अनिता बस्नेतले भारतीय लिग तथा गिता राना भुटानी लिगमा जाने पक्का भएको छ । यसले महिला फुटबलको व्यवसायिक विकास महत्वपूर्ण प्रभाव पार्ने बताउनुहुन्छ, राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का । 
    
वर्षको शुरुमै नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकुदमा रजत, शारीरिक सुगठनमा महेश्वर मास्केले विश्वस्तरको पदक तथा सन्दीप लामिछानेको एकपछि अर्को अन्तर्राष्ट्रिय सफलताले नेपाली खेलकूद क्षेत्रमा यस वर्ष नयाँ तरङ्ग सिर्जना ग¥यो ।
विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेका दशरथ रङ्गशाला नबन्दा नेपाली खेलकूदका लागि निराशाको वर्ष रह्यो । नेपालले २०७५ सालमा आयोजना गर्ने भनेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) भौतिक संरचनाका कारण सम्भव भएन । 

क्रिकेटमा एतिहासिक सफलता
क्रिकेटका लागि यो वर्ष ऐतिहासिक र सफल वर्षका रुपमा रह्यो । डिभिजन दुईबाट शुरु भएको नेपालको यात्रा ‘वान डे अन्तर्राष्ट्रिय डेब्यू’ तथा शृङ्खला जित्न समेत सफल भयो । 
राजनीतिक हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान)को फुकुवा हुन सकेन । तर नेपालका क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा उल्लेख्य सफलता हात पारे । युवा स्पिनर सन्दीप लामिछानेको आइपिएलदेखि विगबाससम्मको यात्रा रोमाञ्चक बन्यो । व्यक्तिगत रुपमा सन्दीप करोडपति खेलाडी बने । 

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो ।

प्याराग्लाइडिङमा एतिहासिक रजत    
गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो । यसका लागि नेपालबाट चारसय भन्दाबढी खेलाडी र पदाधिकारी इण्डोनेसिया पुगे । तर पदकको हिसाबले नेपालको इज्जत जोगाउने काम प्याराग्लाइडिङले गर्यो । सरकारको लगानी बिनानै प्याराग्लाइडिङका खेलाडीले रजक पदक जितेपछि झण्डा समाउन र बधाइ दिन नेपालका खेल पदाधिकारीको होडबाजी भने खुबै चल्यो । 

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामा नै पदक दिलायो । पदकको आशा गरिएका तेक्वान्दो, कराँते, बक्सिङजस्ता खेलमा खालीहात फर्कदा सामान्य तयारी र सरकारको खासै लगानी नभएको खेल प्याराग्लाइडिङले भने पदक दिलायो ।

प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत जित्न सफल भयो । यसअघि तेक्वान्दोकी सविता राज भण्डारीले सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोमा रजत जितेकी थिइन् । त्यसपछिका १६ संस्करणमा सहभागिता जनाउँदा नेपालले कास्यभन्दा माथि जान सकेको थिएन ।
नेपाललाई ऐतिहासिक पदक दिलाउन नेपाली टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टोलीले उत्कृष्ट प्रदर्शन गरे ।

महेश्वरको सफलता 
नेपालमा शारीरिक सुगठन खेल अहिले पनि व्यावसायिक हुनसकेको छैन । निकै खर्चिलो, त्यसमा पनि खाने कुरामा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले लाग्न सक्दैनन् । यस्तैमा पछिल्लो पटक नेपालमा राष्ट्रिय प्रतियोगितामा सहभागिता राम्रो गर्न नसके पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडी हुन महेश्वर महर्जन ।

भुटानमा भएको एशियन च्याम्पियनसिपमा पदक जितेका महेश्वरले विश्व च्याम्पियनसिपमा स्वर्ण पदक चुमेर अर्को सफलताको सिँडी चढे । उनले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । यसअघि श्याम श्रेष्ठले उक्त प्रतियोगितामा रजत पदकसम्म जितेका थिए । 

भौतिक पूर्वाधार निर्माणमा निराशाजनक वर्ष
देशकै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशालाको रूपमा रहेको दशरथ रङ्गशालामा खेलकूद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ को मार्चमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको थियो । तर दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन ।

नेपाली फुटबलको इतिहास बोकेको दशरथ रङ्गशाला विसं २०७२ को भूकम्पपछि जीर्ण बन्यो । भूकम्प गएको वैशाखमा चार वर्ष पूरा हुँदैछ । 

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि मात्र शुरु भएको हो । तर गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूदमा रङ्गशाला तयार गर्ने लक्ष्यसहित काम शुरु गरिएको थियो । पूर्वाधार निर्माणकै अभावमा १३ औँ दक्षिण एशियाली खेलकूद छ महीनाका लागि सरेको छ ।

सन् २०१३ मा निर्माण गरिएको दशरथ रङ्गशाला शरदचन्द्र शाह सदस्य–सचिव रहेका बेला २०३४ देखि तीन वर्ष लगाएर यसकोे स्तरोन्नति र अन्तर्राष्ट्रियस्तरको बनाइएको थियो । रङ्गशालाको अहिलेको स्वरुप भने नेपालले आठौं दक्षिण एशियाली खेलकूदको आयोजना गर्दा चीन सरकारको सहयोगमा सन् १९९९ मा निर्माण गरिएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस