‘एक कप चिया र कफी व्यवस्थित पुस्तकालयका लागि’

शुक्रबार, ०५ माघ २०७४, १६ : ३९
‘एक कप चिया र कफी व्यवस्थित पुस्तकालयका लागि’

रत्ननगर ।  ‘ल एक कप चिया पिउनूस्, पुस्तकालयलाई सहयोग गर्नूहोस्।’ चितवनको भरतपुरका अश्विन धितालले बिहीबार पटिहानीमा भएको एउटा महोत्सवमा दर्शकलाई आग्रह गर्दै थिए । उनलाई सञ्जीव ओझाले सघाई रहेका थिए ।

पटिहानीमा भएको खिचरा महोत्सवमा ‘तपाईंको एक कप चिया र कफी व्यवस्थित पुस्तकालयका लागि’ अभियान लिएर अहिले युवा सक्रिय छन् ।

मौसमअनुसार उनीहरुले फरक फरक कार्यक्रम गर्दै आएका छन् । “अहिले गाउँमा मेला महोत्सवमा एउटा कक्ष मागेर पुस्तकालयका लागि चियाकफी अभियान थालेको बताउँछन्”, अश्विन धिताल ।

योङ्ग नेपाल नामको संस्थामार्फत उनीहरुले यसरी अभियान चलाएका हुन् । उक्त महोत्सवमा चिया कफी बेचेर उनीहरुले झण्डै रु ३० हजार कमाए । “सबै पैसा पुस्तकालयका लागि खर्च गर्ने हो ”, चिया कफी अभियानका संयोजक सञ्जीव ओझा भन्छन्, “ भरतपुर–१३ मा हामी नमूना पुस्तकालय बनाउँदैछौँ ।”

उनीहरुले यसअघि पनि विभिन्न कार्यक्रम गरेर पुस्तकालयका लागि आर्थिक जोहो पनि गरेका छन् । त्यो पैसाले भरतपुरमा सामान्य पुस्तकालय खोलिए पनि व्यवस्थित हुन सकेको छैन । अहिले यहाँ २०० भन्दा बढी पुस्तक आइपुगेका छन् । स्थानीय समाजसेवी रवीन्द्र वाग्लेले पनि रु ३५ हजार बराबरको पुस्तक सहयोग गरेका छन्।

गाउँमा पठन संस्कृतिको विकास गर्ने लक्ष्य बोकेका उनीहरू पुस्तकालयबाट वृद्ध, युवा, बालबालिका सबैलाई ज्ञान प्राप्त हुने बताउँछन् । आर्थिक जोहोका लागि विभिन्न समयमा योग शिविर, साहित्यिक कार्यक्रम, दशैँ विशेष कार्यक्रम, स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम पनि संस्थामार्फत हुँदै आएको छ ।

त्यस्ता कार्यक्रममार्फत पनि केही आर्थिक संकलन हुने र सबै पुस्तकालयका लागि प्रयोग गरिने योङ्ग नेपालका अध्यक्ष विवेश पोखरेल बताउँछन् ।

यतिमात्रै होइन उनीहरुले गाउँमा रहेका युवालाई गाउँमै बस्नुपर्छ भनेर अभियानसमेत चलाएका छन् । विभिन्न सीपमूलक प्रशिक्षण कार्यक्रमसमेत शुरु गर्न लागिएको बताउँछन्, सचिव धिताल ।

सचिव धितालले एकपटक जापानका लागि कोशिष गरे तर सफल हुन भएनन् । त्यसपछि उनले अब नेपालमै केही गर्नुपर्छ भनेर राहदानी च्यातेर गाउँमै बसेर केही गर्ने सोच बनाए । सामान्य विद्युत्को काम गर्ने उनी अहिले यो अभियानमा लागेका छन् ।

भरतपुरका जगन्नाथ भण्डारी कुवेतमा १० वर्ष बसेर फर्किएपछि अब नेपालमै केही गर्नुपर्छ भनेर फेरी विदेश जाने सोच त्यागेका छन् । उनीहरुलगायत भरतपुरका युवा विवेक पोखरेल, सञ्जीव ओझा गोविन्द ढकाल पनि गाउँमा केही गरेर उदाहरणीय काम गर्ने सोचका साथ लागिपरेका छन् ।

भरतपुर महानगरलगायत विभिन्न संघसंस्थाले समेत सहयोगको वचन दिएका छन् । महानगरपालिकाकी प्रमुख रेनु दाहालले कक्षमै पुगेर चिया पिउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । एक वर्षअघि प्लम्बिङ तालीमको माग गर्दा संस्था चाहिने थाहा पाएपछि युवाले योङ्ग नेपाल नामको संस्था दर्ता गरेका थिए । अहिले सोही संस्थाले सामाजिक अभियान थालेको हो ।

पुस्तकालयका लागि च्याउखेती
यसरी महोत्सव गरेर संकलन हुने रकम क्षणिक हुन्छ । त्यसैले दीर्घकालीन आर्थिक जोहोका लागि युवाले अहिले च्याउखेती शुरु गरेका छन् । तीन किलो च्याउ रोपेर त्यसबाट आएको आम्दानी पुस्तकालय तथा युवा सीप विकास र नेतृत्व विकासमा खर्च गर्ने योजना उनीहरुको छ ।

“च्याउको आम्दानीले पुस्तकालय तथा सामाजिक कामका सहयोग हुन्छ भने च्याउ खेती सिकेर युवालाई रोजगारी बनाउने पनि हाम्रो अभियान हो”, संस्थाका सचिव धितालले भन्छन् । सम्बद्ध युवा च्याउ खेती गर्नसमेत सिक्न थालेका छन् ।

स्थानीय सामाजिक अभियन्ता अपिल घिमिरे युवाको अभियान सराहनीय रहेको बताउँछन् । सरसफाइ अभियानसमेत उनीहरुले गर्दैछन् ।(रासस)

प्रतिक्रिया दिनुहोस