- डा. अरुणा उप्रेती/लक्ष्मण अधिकारी
विकास र आधुनिक जीवन शैलीका नाममा शहरतिरबाट आयात गरिएका पाकेट बन्द खानाहरुले स्थानीय उत्पादनलाई हतोत्साही त गर्दै छन् साथै मानिसहरुको स्वास्थ्य पनि विग्रिदै गइरहेको देखिन्छ । यस्तै तयारी खानामा निर्भर रहेर अति कुपोषणको शिकार भएकि अछाम जिल्ला चण्डिका गाविसकि एक वालिका आमाको दुध चुस्दै थिइन । ३ वर्षकि उनी एक वर्ष कि जस्तै सानी थिइन । हिड्न नसक्ने र उनको कपाल पनि अति खैरो थियो ।
“यो त कुपोषण भएको जस्तै छ त रु के ख्वाउनु हुन्छ ? ३ वर्षकि वालिकालाई दुध चुसाउनु पर्छ र ? प्रश्न नसकिदै उनले भनिन्, त्यही त ३ वर्षको उमेरमा दुध चुसाइरहनु पर्छ, चाउचाउ र बिस्कुटबाहेक अरु केही खान्न । उनको कुरा साच्चै अत्यास लाग्दो थियो । तिन वर्ष पुगे पनि उनी राम्ररी बोल्न सक्दिनन, हिड्न सक्दिनन् । तिनलाई त रक्तअल्पता (रगतको कमी) पनि भइसकेको रहेछ । यसरी चाउचाउ मात्र खुवाए त पछि बढ्न पनि सक्तिन, राम्ररी पढ्न पनि सक्दिन । हाम्रो जवाफ सुनेर उनी टोलाएर वसिन् l
जंक फुड भनेको मानिसलाई चाहिने भन्दा बढी क्यालोरी भएका र अति आवश्यक पर्ने भिटामिनलगायतका तत्वहरु प्रायः नभएका वस्तुहरु हुन् । रेष्टुरेन्टमा पाइने सवै बस्तु जंक फुड हुन कि भन्ने भ्रम धेरैलाई परेको हुन्छ तर त्यसो होइन । रेष्टुरेन्टमा थुप्रै लाभदायक खानाहरु पनि हुन्छन् । जंक फुड हो कि होइन भनेर छुट्याउनका लागि त्यो खाद्य बस्तु कसरी बनाइएको छ , त्यसमा भर पर्छ । एउटै वस्तुबाट बनाइएका परिकार पनि कुनै जंक फुड हुन सक्छ भने कुनै नहुनसक्छ । जस्तो, उसिनेर हल्का मसला वा क्रिममा मलेर बनाइएको आलु पोषिलो हुन्छ र यसलाई जंक फुड भन्न सकिन्न तर त्यही आलुलाई पटक पटक तताएर विभिन्न खाना पकाइएको तेलमा तारिएको (फ्रेन्च फ्राइ) छ भने त्यसमा कुनै भिटामिन, मिनरल बाँकि रहँदैन । सवै डढिसकेको हुन्छ । योचाहिँ जंक फुड हो । त्यस्तै फ्राइड चिकेन, केक, चिजबल , चाउचाउ आदि पनि जंक फुड नै हुन् ।
कुनै जंक फुडमा प्रसस्त मात्रामा चिनी मिसाइने भएकाले यस्ता खाना धेरै खाँदा मानिसलाई मधुमेह रोग हुने संभावन निकै बढ्छ । यसले शरीरको तौल बढाई सुन्दर शरीर पनि भद्दा हुन पुग्छ । आलस्यता बढ्ने, फुर्ति हराउने, खुट्टाहरु दुख्ने समस्या शुरु हुन्छ । साथै तौल बढे पछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या उत्पन्न हुने हुन्छ ।
जंक फुडमा नुनको मात्रा चाहिनेभन्दा पनि निकै बढी हुन्छ । दालमोट, चिप्सहरु, भुजिया, पापड आदिमा नुनको मात्रा हामीले दैनिक रुपमा घरमा खाने खानाको भन्दा निकै बढी हुन्छ । त्यसकारण जंक फुड खाने बानी गर्दा शरीरमा नुनको मात्रा चाहिने भन्दा धेरै नै बढी हुन जान्छ । यसले उच्च रक्तचाप बृद्धि हुन्छ । रक्तचाप बृद्धि भए पछि प्रमुख रुपमा मुटुलाई असर गर्छ
जंक फुड धेरै खाने गर्दा कुपोषणको समस्या पनि हुने गरेको पाइएको छ । यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ । कतिपय बालबालिकालाई त यसको लत नै लागेको हुन्छ । यस्ता वस्तुमा पोषणको मात्रा ज्यादै नै न्युन हुने भएकाले जंक फुड धेरै खाने बानी परेका बालबालिकालाई कुपोषणको समस्या हुने गरेको पाइएको छ । जंक फुडको बढी सेवनले कुपोषण भई विभिन्न रोगले आक्रमण गर्ने हुन्छ । जंक फुडमा पोषण हुँदैन तर क्यालोरी बढी मात्रामा हुने भएकाले बालबालिका सानै उमेर देखि मोटाउन थाल्छन् । यो मोटोपन बन्छन भविष्यमा विभिन्न रोगको कारक ।
प्रतिक्रिया दिनुहोस